जनकपुर, असार १५

जनकपुधाम उपमहानगरपालिका कृषिलाई प्राथमिकता दिदैँ पहिलो पटक धान दिवस मनाएको छ ।

बुधबार जनकपुरधाम स्थित नोचा पोखरी अवस्थित १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा जनकपुरधाम उपमहानगरपालिका समेतले ‘‘अन्नबाली जनकपुरधामको रखवाली’’ भन्ने मूल नाराका साथ मनाएका छन् ।

सो कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले कृषि क्षेत्रलाई प्राथमिकता दिदैं उपमहानगरपालिकाले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।

उनले भने, ‘यहाँ प्रमुख समस्या रसायनिक मलको छ, त्यसमा नियन्त्रण सहितका सर्वाधिकार नेपाल सरकारको रहेको छ, डिलरबाट किसानसम्म पुरयाउन उपमहानगरपालिकाले सहजता मात्र गर्न सक्छ । त्यसका लागि उपमहानगरले डिलरलाई चाँडोभन्दा चाँडो मलखाद्य उपलब्ध गराउन पत्राचार गरिसकेको छ ।’

जनकपुरधाम उपमहानगरले आगामी आर्थिक वर्षदेखि यहाँका कृषि उत्पादकत्व बढाउन माटो परिक्षण, जैविक मलको उत्पादनमा जोड, यान्त्रिकीकरण, सिचाईको सहज उपलब्धता र कृषि मिटरमा छुट, चौपाया गाईवस्तुमा अनुदान लगायतका कार्यक्रम ल्याउन लागेको मेयर साहले बताए ।

उनले भने, ‘रसायनिक मल र औषधि छिडकाउको बढी प्रयोगले खेतको उर्वरा शक्ति कम हुने, जैविक तत्व समाप्त हुनुले उत्पादनमा ह्रास आइरहेको कारण उपमहानगरले जैविक कम्पोष्ट मल उत्पादनमा जोड दिनेछ । सम्भवत उपमहानगरपालिकाले आफै उत्पादन गर्न सक्नेछ वा किसानलाई प्रोत्साहित गर्नेछ ।’

यसका साथै माटो परिक्षणको कार्यक्रम समेत अगाडि बढाउने, उपमहानरले तयार पारेको प्रतिवेदनको आधारमा खाद्य वस्तुको उत्पादनमा जोड दिनेछ, किसानहरुलाई अनुदानमा धान काट्ने, हाते टयाक्टर, अन्नबाली भित्राउने मेसिन सम्भव भए निशुल्क उपलब्ध वा अनुदानमा उपलब्ध गराउने कार्यक्रम पनि आगामी आर्थिक वर्षमा समेटिएको उनले बताए ।

सो कार्यक्रममा उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले उपमहानगरभित्र कृषि उत्पादकत्व बढाउन उपहानगरले किसानलाई सहज हुने गरी विभिन्न कार्यक्रम ल्याएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।

यस कार्यक्रममा सहभागी मेयर साह र प्रमुख प्रशासकीय अधिकृत उपाध्याय सहित उपमहानगरपालिकाका कर्मचारी सो क्षेत्रका एक दर्जनभन्दा व्यक्तिहरुले धान रोपाई गरेका थिए ।