एजेन्सी, असार ३०

राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास कब्जा गरेर बसेका प्रदर्शनकारी ती स्थानबाट निस्कने भएका छन् ।

राष्ट्रपति गोटाबाया राजपाक्ष श्रीमती र दुई जना अङ्गरक्षकका साथ देशबाट बाहिरिएपछि नयाँ सरकारसमक्ष आफ्ना माग पु¥याउन उनीहरू ती भवनबाट बाहिरिने निष्कर्षमा पुगेका हुन् ।

राष्ट्रपति गोटाबाया राजीनामापत्रमा हस्ताक्षर नगरी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई कार्यबाहक राष्ट्रपति बनाएर देशबाट बाहिरिएपछिको परिस्थितिमा समस्याको समाधान संसद्बाट खोज्ने उद्देश्यले सरकारी निवास खाली गर्ने निष्कर्षमा आफूहरू पुगेको प्रदर्शनको नेतृत्व गरिरहेका देविन्द कोडागोडेले बताए । सभामुखले पनि समस्याको निकास संसद्बाट खोज्ने प्रयास भइरहेको बताएका छन् ।

वायुसेनाको विमानमा मालदिभ्स पुगेका गोटावाया साउदी एयरलाइन्स चढेर सिङ्गापुर हुँदै साउदी अरबको जेद्दातर्फ लागेका मालदिभ्स सरकारका एक अधिकारीले बताएका छन् । आक्रोशित प्रदर्शनकारीबाट संसद् भवनलाई जोगाउन त्यहाँ भारीमात्रामा सुरक्षाफौज परिचालन गरिएको छ । हातहतियारले सुसज्जित सैन्यटोली बख्तरबन्द गाडीका साथ संसद् भवन बाहिर तैनाथ भएका छन् ।

यता श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कफ्र्यू) घोषणा गरेका छन् ।

निषेधाज्ञा लागू भएसँगै श्रीलङ्काली रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा घेराउ गरी उनको राजीनाको माग गरेका थिए । बुधबार नै सभामुखले प्रधानमन्त्री विक्रमासिङ्घेलाई कार्यबाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्बाट जानकारी दिएका थिए ।

गत शनिबार राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन् ।