जनकपुर, असार ३०
नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा सबै भन्दा बढी अन्तर्घात भएको भन्दै मधेश प्रदेशबाटै बढी उजुरी परेको छ ।
स्थानीय तहको निर्वाचनमा अन्तर्घातको विषयमा छानबिन गर्न बनाएको समितिमा मधेस प्रदेशबाट सर्वाधिक उजुरी आएको माओवादीले जनाएको हो ।
माओवादीले अन्तर्घातबारे छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो । छानबिन समितिको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा छन् ।
सो समितिका एक सदस्यका अनुसार छानबिन समितिमा सबैभन्दा बढी उजुरी मधेस प्रदेशबाट परेको छ । मधेस प्रदेशमा २०७४ सालको चुनावमा माओवादी केन्द्रले २१ स्थानीय तह जितेकोमा गत वैशाख ३० गतेको चुनावमा ९ सीटमात्रै जितेको छ । कुल १३६ स्थानीय तहमा माओवादी ९ सीटमा खुम्चिएपछि नेताहरुकै संलग्नतामा अन्तर्घात भएको आकलन थियो ।
छानबिन समिति बनेपछि एकले अर्का विरुद्ध उजुरी दिएको ती नेताले बताए । उनका अनुसार मधेस प्रदेशका महोत्तरी र सिरहाबाट धेरै उजुरी परेको छ ।
महोत्तरीमा यसअघि ४ पालिका जितेको माओवादी केन्द्र अहिले शून्य भयो । सिरहामा ६ पालिका जितेकोमा एक पालिकामात्रै जित्यो । धनुषामा यसअघि तीन पालिका जितेकोमा अहिले एक पालिकामात्र माओवादी केन्द्रले जितेको छ । रौतहटमा पनि अहिले माओवादी केन्द्रले एक पालिकामात्रै जितेको छ ।
यसरी चुनाव हार्नुमा पार्टीकै हाई प्रोफाईल नेताको संलग्नता रहेको माओवादी केन्द्रका मधेस प्रदेशका एक सदस्य बताउँछन् । उनका अनुसार मधेसमा माओवादी केन्द्रका तीन गुट छन् ।
तीमध्ये स्थायी समिति सदस्य मातृका यादव र गिरिराजमणि पोखरेल गुट सबैभन्दा बढी शक्तिशाली गुट हुन् । दुवैतिर नलागेकाहरु भने आफूलाई ‘प्रचण्ड गुट’ का रुपमा व्याख्या गर्दछन् ।
ती गुटले एकले अर्कोलाई दोषी देखाएर उजुरी दिएको छानबिन समितिका ती सदस्यले बताए । अन्तर्घातमा यादव र पोखरेलको समेत उजुरी परेको छ । यस्तै केन्द्रीय सदस्य प्रकाशहरी पोखरेलको समेत अन्तर्घातमा उजुरी परेको बताइएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका, कटारी नगरपालिका र लिम्चुबुङ गाउँपालिकामा भएको अन्तर्घातको विषयमा समेत उजुरी परेको छ । अन्तर्घात छानबिन समितिले देशभरबाट उजुरी लिइरहेकाले उजुरीको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
पार्टी अध्यक्ष प्रचण्डले अन्तर्घात भएको पुष्टी भए कारबाही गरेरै छाड्ने बताएका छन् । यसअघि बसेको केन्द्रीय समिति बैठकमा प्रचण्डले पार्टीमा अन्तर्घात रोग भएको भन्दै पुष्टी भए कारबाही गर्ने चेतावनी दिएका थिए ।
चुनावमा अन्तर्घात गर्ने नेताको पुष्टी भए पनि कारवाही हुनेमा धेरैजसोले भने आशंका व्यक्त गरेका छन् । तर, स्थायी समिति सदस्य लीलामणि पोखरेलले चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गरिने बताए । ‘कारबाही गरिएन भने पार्टी नै बन्दैन । पार्टीभित्र दण्डहिनताको स्थिति देखा प¥यो भने कसरी अगाडि बढ्ने ?’ रातोपाटीसँगको कुराकानीमा पोखरेलले दण्डहिनताको स्थिति अन्त्य गर्न र पार्टीमा सक्षम तथा क्षमतावान व्यक्तिलाई ल्याउन पनि त्यस्ता अन्तर्घातीमाथि कारवाही गर्नुपर्ने बताए ।
माओवादीले स्थानीय तहमा भएको अन्तर्घातको छानबिन तथा दोषीमाथि कारबाही गरेमा प्रदेश र संघको चुनावमा त्यस्तो प्रवृत्ति निरुत्साहित हुने र राम्रो नतिजा आउने कार्यकर्ताहरुको भनाइ छ । त्यसैले पनि अध्यक्ष प्रचण्डले अन्तर्घात पुष्टी भए कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
छानविन समितिलाई १५ दिनभित्रमा प्रतिवेदन पेस गर्न समय दिइएको माओवादीले जनाएको छ ।
