संघिय परिषद अध्यक्षको जिम्मेबारी राईलाई दियो
वीरगञ्ज, असार ३०
जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षीय बैठकबाट संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जना नेतालाई कारबाही गर्ने निर्णय गरेको छ ।
वीरगंजमा उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठकबाट संघीय परिषद् अध्यक्ष भटटराईका साथै ९ जना नेताहरुको सम्पूर्ण जिम्मेबारी खोस्ने निर्णय गरेको हो । भट्टराईका साथै केन्द्रीय कार्यकारिणी सदस्यहरु महेन्द्रराय यादव, हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गंगा श्रेष्ठ, रमेश यादव, दानबहादुर चौधरी र भक्तबहादुर शाहलाई कारबाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।
पार्टी विरोधी गतिविधीमा लागेको भन्दै भट्टराई र उनको पक्षमा लागेका गरि ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई कार्वाही गरि पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
तर यसको औपचारिक निर्णय भने जसपाले सार्वजनिक गरेको छैन । वीरगन्जमा दुई दिनसम्म चलेको अध्यक्ष यादव पक्षको बैठकले गरेका निर्णयहरु शुक्रबार बिहान वीरगन्जमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पार्टीका केन्द्रीय सदस्यसमेत रहेका वन तथा वातावरण मन्त्री प्रदीप यादवले बताए ।
उनले भने, ‘दुई दिनको बैठकले निक्कै कठोर र महत्वपूर्ण निर्णयहरु गरेको छ, शुक्रबार वीरगन्जमै शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नु हुनेछ ।’
यता भट्टराईको जिम्मेबारी खोसिएको केही घण्टा नबित्दै संघिय परिषद अध्यक्षको जिम्मेबारी अशोक राईलाई दिइएको छ । भट्टराई पक्षलाई छोडेर उपेन्द्र यादव पक्षमा लागेका जसपाको बरिष्ठ नेता राईलाई संघिय परिषद अध्यक्षको जिम्मेबारी दिएको जसपा पार्टी श्रोतले जनाएको छ ।
