काठमाण्डौ, असार ३०
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को भोलिदेखि हुने तीन दिने भारत भ्रमणका बारेमा छलफल भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज साँझ बसेको बैठकले अध्यक्ष प्रचण्डको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमणको तयारीका बारेमा ब्रिफिङ गराएको थियो । बैठकले उनको भ्रमणको सफलताको कामना समेत गरेको छ ।
करिब दुई महिना पहिले नै नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएको थियो ।
सो भेटका अवसरमा प्रचण्डले जुलाईको पहिलो वा दोस्रो सातासम्म भ्रमण सम्भव हुने जवाफ दिएको उहाँको सचिवालयले जनाएको छ ।
सोहीअनुुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले अध्यक्ष प्रचण्डलाई भारत भ्रमणको औपचारिक पत्राचार गरेको थियो । प्रचण्ड आगामी साउन १ गते आइतबार स्वदेश फर्किनेछन् ।
