काठमाण्डौ, असार ३१
प्रतिनिधिसभामा दुई सय ७५ जना मध्ये अहिले दुई सय ७१ सदस्यीय सांसद छन् । जसमध्ये अहिले सत्ता गठबन्धनमा नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद रहेका छन् ।
एमालेको ९८ जना सांसद छन् । उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्थामा उल्लेख रहेको छ । जस अनुसार अहिले २ सय ७१ सांसदको बहुमत १ सय ३६ हुन्छ ।
त्यस्तै सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन् । चार सांसद रिक्त अवस्थामा छन् भने चार जना निलम्बनमा परेका छन् । १३४ मत भए बहुमत पुग्ने हुँदा काँग्रेस, माओवादी र एकीकृत समाजवादीको मत नै जितका लागि पर्याप्त छ । १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि गठबन्धनका उम्मेदवार सहयोग गर्न जनाएको छ ।
उपसभामुखमा सत्तारूढ गठबन्धनको तर्फबाट काँग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र एमालेबाट विद्या भट्टराई चुनावी मैदानमा छन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख भने पाएको छैन ।
