एजेन्सी, असार ३१
श्रीलङ्कामा देशैभरि वृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजिनामा स्वीकृत भएको बताएका छन् ।
“राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ । आवश्यक कानुनी प्रक्रियापछि संसद् सदस्यलाई भोलि नयाँ राष्ट्रपति निर्वाचित गर्न आमन्त्रित गरिनेछ,” सभामुख अबेयवार्देनाले एएनआईसँग भने ।
आन्दोलनकारीको निरन्तरको दबावलाई साम्य पार्ने प्रयासस्वरूप सम्बोधन गर्दै एबेयवार्देनाले जुलाई १४ देखि राष्ट्रपतिले कानुनी रूपमा आफ्नो कानुनी कर्तव्य र जिम्मेवारीबाट राजीनामा दिएको बताए । उनले संसदद्वारा नयाँ राष्ट्रपति निर्वाचित गर्ने टुङ्गो नलागेसम्म श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रेमसिङ्हेलाई अन्तरिम राष्ट्रपतिको रूपमा शपथ दिइने पनि बताए । श्रीलङ्काको संविधानको धारा ४० तथा १९८१ को विशेष प्रावधानको ऐन नं. २ व्यवस्था भए बमोजिम राष्ट्रपति चयन गरिने अबेयवार्देनाले बताए ।
उनले अघि थप्दैँ भने, “यो प्रक्रिया सफलतापूर्वक र छिटो पूरा गर्ने मेरो मनसाय हो । प्रजातान्त्रिक परम्परालाई पवित्र राख्ने दक्षिण एसियाली क्षेत्रको सबैभन्दा पुरानो प्रजातन्त्र भएकाले यो प्रक्रियालाई पारदर्शी र प्रजातान्त्रिक ढङ्गले पूरा गर्नु श्रीलङ्काको इतिहासमा मात्र नभइ विश्वको प्रजातान्त्रिक इतिहासमा पनि एउटा कोसेढुङ्गा हुनेछ ।” उनले यस लोकतान्त्रिक प्रक्रियामा सहयोग गर्न पार्टीका नेता, राज्य पदाधिकारी र सुरक्षाकर्मीबाट सहयोगको लागि अनुरोध गरे ।
एबेयवार्देनाले भने, “शान्तिपूर्ण वातावरण सिर्जना गर्नका लागि श्रीलङ्काका हाम्रा सम्मानित र प्रिय नागरिकलाई मेरो विशेष अपिल छ । यसले संसद्का सबै सदस्यलाई स्वतन्त्रतापूर्वक संसद्मा उपस्थित हुन र आफ्नो अन्तस्करणअनुसार कार्य गर्न अनुमति दिनेछ ।” सात दिनभित्र राष्ट्रपतिको निर्वाचन प्रक्रियालाई निष्कर्षमा पु¥याउने लक्ष्य रहेको सभामुखले प्रस्ट पारे ।
यसैबीच सिङ्गापुरको परराष्ट्र मन्त्रालयले राजपाक्षलाई निजी भ्रमणमा सिङ्गापुर प्रवेशको अनुमति दिएको पुष्टि गरेको छ । मन्त्रालयले भनेको छ, “उहाँले शरण माग्नुभएको छैन । शरण दिइएको पनि छैन ।” माल्दिभ्सबाट बिहीबार साँझ साउदी एअरलाइन्सको उडानमा सिंगापुर पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजपाक्ष र उनकी पत्नी सिंगापुरमै रहने र मध्यपूर्वतर्फको थप यात्रा नगर्ने बताइएको छ । यसअघि विभिन्न सञ्चारमाध्यमद्वारा सार्वजनिक समाचारमा साउदी एअरलाइन्सको विमान एसभी–७८८ सिंगापुर पुगेका श्रीलङ्काका राष्ट्रपति र उहाँकी पत्नी साउदी अरबको जेदा जाने रिपोर्ट गरिएको थियो । जुलाई ९ मा प्रदर्शनकारीको भीडले राष्ट्रपतिको निवासमा आक्रमण गरेपछि ७३ वर्षीय राजपाक्ष देशको कुनै स्थानमा लुकेर बसेको थियो । यसपछि राजपाक्ष आफ्नी पत्नीसँगै सुटुक्क माल्दिभ्सतर्फ गएका थिए । उनले गत बुधबार आफ्नो राजीनामा पत्र हस्तान्तरण गर्ने घोषणा गरेको थियो ।
उनको अनुपस्थिति र राष्ट्रपति पदबाट राजीनापछि मुलुकको संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेलाई श्रीलङ्काको अन्तरिम राष्ट्रपति नियुक्त गरिएको थियो । शनिबार फोर्टस्थित राष्ट्रपति भवनमा हजारौँ प्रदर्शनकारी प्रवेश गरी कार्यालय कब्जा गरेपछि राजपाक्ष त्यहाँबाट सुरक्षाकर्मीको सहयोगमा भागेर सुरक्षित स्थानमा गएका थिए । प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेसमेतले जारी विरोधकाबीच आफ्नो पदबाट हट्ने घोषणा गरे ।
