दिल्ली, असार ३१

शुक्रबार भारत भ्रमणको सिलसिलामा नयाँ दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भोली भेटवार्ता हुने भएको छ ।

आइतवार बिहान प्रचण्ड र मोदीबीच भेटवार्ता हुने निश्चित भएको हो । भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार आइतबार बिहान ८ः३० बजे भारतीय प्रधानमन्त्री मोदी निवासमा ब्रेकफास्टसँगै भेटवार्ता गर्ने तय भएको जनाइएको छ ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा गएका हुन् । मोदीसँगको भेटपछि प्रचण्डले भाजपाको कार्यालय भ्रमण गर्ने बताइएको छ । त्यहाँ भाजपाका अध्यक्ष नड्डासहित अन्य नेताहरुसँग भेटघाट र दिवा भोजको आयोजना हुने बताइएको छ ।

त्यस्तै प्रचण्डले शनिबार बिहान भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गर्नेछन् भने त्यसपछि भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटघाट हुने कार्यक्रम छ। शनिवार नै प्रचण्ड फाउण्डेशन फर पब्लिक अवेरनेश एण्ड पोलिसी संस्थाले आयोजना गर्ने कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागी हुने कार्यक्रम छ ।

त्यस्तै प्रचण्ड शनिबार नै भारतीय विदेश मन्त्री जयशंकरले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने बताइएको छ । शुक्रबार साँझ भने प्रचण्ड र भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटघाट भएको छ । विदेश सचिव क्वात्रा नेपालका लागि पूर्व भारतीय राजदूत पनि हुन् ।