वीरगञ्ज, असार ३१

पर्साको वीरगञ्ज महानगरपालिकाले साउन २० गते सम्मका लागि विद्यालय बन्द गरेको छ ।

अत्याधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा असर परेको भन्दै विद्यालय बन्द गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
वीरगञ्ज महानगरले यसअघि असार २८ गतेदेखि असार ३१ गतेसम्म पनि गर्मी विदा दिएको थियो ।

वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत हरि राउतले अत्याधिक गर्मीका कारण बालबालिकामा पर्न जाने प्रतिकूलतालाई मध्यनजर गर्दै साउन २० गते सम्मका लागि विद्यालय बन्द गरिएको बताए ।

शैक्षिक क्यालेन्डरमा साउन ८ बाट वर्षे विदा उल्लेख भए पनि गर्मी घट्नुको सट्टा झन् बढ्दै गएकाले साउन १ देखि २० गतेसम्म विदा दिने निर्णय गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए ।

वीरगञ्जमा ९० वटा सामुदायिक, १८० वटा नीजि विद्यालयसहितकामा गरी कुल ७८ हजार भन्दा बढी विधार्थी अध्ययनरत छन् ।