जनकपुर, असार ३१

अनियमित विद्युत कटौतीले गर्मी मौसममा सामान्य जनजिवन निकै प्रभावित भएको भन्दै जनकपुरधाम उद्योग वाणिज्य संघको एक टोलीले नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख लखनलाल मल्लिकलाई ज्ञापनपत्र बुझाउँदै अनियमित विद्युत कटौती नगर्न माग गरेको हो ।

संघका अध्यक्ष जितेन्द्र महासेठको अगुवाईमा पुगेको सो टोलीले केन्द्रका प्रमुख मल्लिकलाई ज्ञापनपत्र बुझाएका हुन् ।

विद्युत कटौतीले समस्या भएकाले प्राधिकरणको ध्यानाकर्षण गराईएको अध्यक्ष महासेठले बताए ।

सो ज्ञापनपत्रमा अघोषित रुपमा भईरहेको विद्युत कटौतीलाई रोक्न माग गरिएको छ । यस्तै अव्यवस्थीत विद्युत तार तथा पोलहरुको व्यवस्थापन गर्न, मर्मतको नाममा सेवाग्राहीबाट लिइने शुल्क खारेज गर्न पनि माग गरिएको छ ।

सो ज्ञापनपत्र बुझ्दै विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख मल्लिकले विद्युत कटौतीको कुनै तालिका नभएको प्रतिक्रिया दिए । उनले मर्मत सम्भारका बेला विद्युत कटौती गरिदै आएको समेत जानकारी दिए ।

उनले यसवर्ष १६ प्रतिशत विद्युत खपतको लोड वृद्धि भएकाले समस्या उत्पन्न भएको बताए ।