काठमाण्डौ, असार ३२

नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनको अभिव्यक्तिप्रति चीनले आपत्ति जनाएको छ ।

शुक्रबार काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग जोडेर चीनको भूमिकाप्रति थम्पसनले दिएको अभिव्यक्तिको खण्डन गरेको हो ।

प्रस्तावित राजदुत थम्पसनले बुधबार अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय समितिमा बोल्दै नेपालमा चीनको विरोधकै बीच एमसीसी परियोजना अनुमोदन भएको बताएका थिए । उनले चिनियाँ दुष्प्रचारका बीच नेपालको संसदले ५०० मिलियन डलरको एमसीसी परियोजना अनुमोदन गरेको बताएका थिए ।

चिनियाँ दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा थम्पसनले चीनको निन्दा मात्र गरेको नभई नेपाल र नेपाली जनताको समेत अपमान गरेको जनाइएको छ ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘उनले चीनको मात्र निन्दा गरेका छैनन्, नेपाल र त्यहाँका जनताको समेत अपमान गरेका छन् । चीनले यसलाई दृढतापूर्वक अस्वीकार गरेको छ ।’

प्रस्तावित अमेरिकी राजदुत थम्पसनले सिनेटमा गरेको टिप्पणीलाई ध्यान दिइएको बताउँदै विज्ञप्तिमा उक्त टिप्पणी पूर्णतया आधारहीन भएको दाबी गरिएको छ ।

सो विज्ञप्तिमा नेपाल मित्रवत निकट छिमेकी र विकास साझेदार पनि रहेको बताउँदै चीनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न र नेपाली जनतालाई स्वतन्त्र रुपमा आफ्नै विकासको बाटो रोज्न सहयोग गर्ने समेत जनाइएको छ ।