काठमाण्डौ, असार ३२

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ जना नेतामाथि गरेको कारबाही निर्णयको भत्र्सना गर्दै खारेज गरेका छन् ।

शुक्रबार जसपा नेपालको संघीय परिषद्को अध्यक्ष डा. भट्टराईले एक विज्ञप्ति जारी गर्दै उनले नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैमा अपिल गरेका छन् ।

पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको स्वैच्छाचारी कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दैगर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्नुपरेको उनको स्पष्टोक्ति समेत उनले दिएको छ ।

डा. भट्टराईले पार्टी अध्यक्ष यादवले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वैच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको आरोप लगाएका पनि छन् ।

जारी गरिएको विज्ञप्तिमा, ‘ पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ ।’ भनिएको छ ।