काठमाण्डौ, असार ३२
नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रधानमन्त्री देउवालाई सात बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्नका लागि माग गरेका छन् ।
त्यस्तै वाईसीएलले आर्थिक संकट र विदेशी मुद्रा संचिती घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त स्थगित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नुपर्ने माग गर्दै वाईसीएलले प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापनपत्रमा जनाइएको छ ।
त्यस्तै किसानलाई समयमै मल बिउको उपलब्ध गराउनुपर्ने, विद्यार्थीलाई पाठ्य सामग्रीको व्यवस्था तत्काल गर्नुपर्ने र सामाजिक विकृति विसंगती तथा हिंसाको विरुद्ध प्रभावकारी कदम चाल्न ऐन कानुनको समयानुकुल परिमार्जन गर्न समेत वाईसिएलले प्रधानमन्त्री देउवाको ध्यानाकर्ण गराएको छ ।
