एजेन्सी, असार ३२
भारतको पञ्जाब राज्यका मुख्यमन्त्री भगवन्त मानको संगरुरस्थित घरबाहिर दुई युवाले आत्महत्याको प्रयास गरेका छन् ।
एक युवकले विषालु स्प्रे सेवन गरेका थिए भने अर्काले झुण्डिने प्रयास गरेका थिए ।
स्प्रे सेवन गरेका युवकलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको जनाइएको छ । सोही क्रममा झुन्डिएका युवकलाई भने सँगै रहेका अन्य साथीहरुले तत्काल उद्दार गरेका थिए ।
यी युवाहरूले प्रहरी भर्तीका लागि नियुक्तिपत्र दिन मुख्यमन्त्रीको निवास बाहिर धर्ना दिइरहेका छन् ।
सन् २०१६–०१७ मा पञ्जाब प्रहरीमा भर्ती भएको थियो । यस क्रममा युवाहरुको सबै प्रमाणीकरण पनि भइसकेको छ ।
अकाली सरकारको पालामा भर्ना भएपनि त्यसपछि बनेको काँग्रेस सरकारले ५ वर्षसम्म युवाहरुको कुरा सुनेन । अहिले ११ जना युवाहरु आफ्नो नियुक्ति पत्रको निर्णय गरिदिन मानको निवास बाहिर धर्ना दिइरहेका छन् । तिनले तत्काल नियुक्ति पत्र नदिए सबैले आत्महत्या गर्ने चेतावनी दिएका छन् ।
प्रहरी भर्तीको पर्खाइमा रहेका यी युवाहरु मे १० देखि मुख्यमन्त्री निवास अगाडि धर्नामा छन् । विधानसभा चुनाव र पछि संगरुर लोकसभा उप चुनावको समयमा आम आदमी पार्टीले नियुक्तिपत्र दिने आश्वासन दिएको युवाहरुको भनाई छ ।
