दिल्ली, असार ३२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन हुनुपर्ने बताएका छन् ।

शनिबार नयाँदिल्लीमा अध्यक्ष प्रचण्डले फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले गरेको कार्यक्रममा बोल्दै उनले कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरु समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाइ गर्न नहुने बताएका हुन् ।

त्यस अवसरमा अध्यक्ष प्रचण्डले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझै प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने बताए । नेपाल–भारत बीचको सम्बन्ध परापूर्वकाल देखि नै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिने उनको भनाई छ ।

नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि उनले भारतसँग आग्रह गरे । नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको स्पष्ट पारे ।

भारतमा रहेका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।