चितवन, साउन १
राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारीलाई प्र्रहरीले पक्राउ गरेका छन् ।
शुक्रबार विद्युतको कार्यालय परिसरमा मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार संकलन गर्न पुगेका पत्रकार आचार्यलाई कर्मचारीले कुटेका थिए ।
कुटपिट गरेको आरोपमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशङ्कर चौधरी र लेखापाल हरि पौडेललाई प्रहरीले पक्राउ गरेका हुन् ।
उनीहरुलाई कानुनअनुसार कारबाही गर्ने गरी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जनाएका छन् ।
कार्यालय परिसरभित्रै मदिरा सेवन गरेर बसेका कर्मचारीले पत्रकार आचार्यलाई कुटपिट गरी दुर्व्यवहार गरेका थिए ।
उनको हातमा चोट लागेको छ भने कपडासमेत च्यातिदिएको थियो । कर्मचारीको एक समूहले कुट्न थालेपछि बन्द भएको गेट नाघेर ज्यान जोगाउन बाध्य भएको उनले बताए ।
ती कर्मचारीले कार्यलय परिसरभन्दा केही पर रहेको चितवन पोष्ट दैनिकको कार्यालयसम्म पत्रकार आचार्यलाई लखेटेका थिए । उनलाई कर्मचारीले कुटपिटपछि दुईवटा मोबाइल पनि खोसेका थिए ।