पर्सा, साउन २
पर्साको कालिकामाई गाउँपालिकामा असार ३१ गते शुक्रबार झडप भएपछि गाउँ सभा अनिश्चिकालका लागि स्थगित भएको छ ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप हुँदा जसपा तर्फका कालिकामाई वडा नम्बर ३ का वडा अध्यक्ष सञ्जय कुमार पटेलसहित ५ जना घाइते भए । त्यसपछि गाउँसभा हुन सकेन भने अब कहिले हुने हो भन्ने कुराको अन्योलता कामयै रहेपछि गाउँसभा अनिश्चितकालका लागि स्थगित भएको हो ।
नेपाली कांग्रेस पक्षले पनि आफ्नो तर्फका कृष्ण ठाकुर, अमरदेव चौरसिया, लाल किशोर साह, अजय साह लगायत घाइते भएको दावी गरेको छ । तर जिल्ला प्रहरी कार्यालय पर्साले भने झडपमा वडा नं ४ का वडा अध्यक्ष सञ्जय सहित ५ जना सामान्य घाइते भएको जनाएको छ । जसमध्ये ३ जना उपचार पछि घर फर्किसकेका छन् भने जसपाका मोहम्मद एकबाल मियाँ र कांग्रेसका ओम प्रकाश चौरसिया नारायणी अस्पतालमा उपचाररत रहेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल बताउँछन् ।
एकबालको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने चौरसियाको हात भाँचिएको नारायणी अस्पतालले जनाएको छ । दुवै पक्षबाट प्रहरीमा उजुरी आएको छैन ।
टोल टोलमा झडप हुँदा केही बाइक घर र पसलहरुमा समेत तोडफोड गरिएको स्थानीय बताउँछन् । कालिकामाई गाउँपालिका–५ बलुवाटोलमा किराना पसलमा तोडफोड गर्दै गर्दा प्रहरी टोली पुगेपछि कांग्रेस कार्यकर्ता भागेका थिए । ठाउँ ठाउँमा पानी तान्ने मोटर झिकेर फालिएको र कुनै दलमा आवद्ध नभएका सर्वसाधारणको घरमा समेत क्षति पु¥याइएको स्थानीयको भनाइ छ ।
