जनकपुर, साउन २

न्याय परिषद्ले आफ्नो सक्रियता बढाएपछि न्यायधीशहरु निरन्तररुपमा कारवाहीका लागि सिफारिश गर्न थालेका छन् ।

विशेषगरि नेताको आशीर्वादबाट न्यायधीश बनेकाहरु पनि न्याय परिषद्को कारवाहीका लागि सिफारिशमा पर्न थालेका हुन् ।

न्याय परिषद्ले थप दुईजना न्यायाधीशहरूलाई बर्खास्त गर्न सिफारिश गरेको छ ।

सोमबार न्याय परिषद्को सचिवालयको बसेको बैठकले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश राकेशकुमार निधि र काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्तका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार दुवैजना न्यायाधीशहरूको खराब आचरण र कार्यक्षमता अभावका कारण पदमुक्त गर्नका लागि सर्वोच्च अदालतमा लेखी पठाउने निर्णय गरिएको जानकारी दिए ।

निधि उच्च अदालत राजविराज इजलासमा हुँदा र शर्मा सिरहा जिल्ला अदालतमा हुँदा गरेका फैसलाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सो निर्णय गरिएको कार्कीले स्पष्ट पारे ।