जनकपुर, साउन २
प्रमुख राजनीतिक दलको रुपमा रहेका नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले केही महिना अगाडी महाधिवेशन सम्पन्न गरिसकेका छन् । महाधिवेशन सम्पन्न गरेर ती दलहरुले नयाँ नेतृत्व समेत पाई सकेका हुन् ।
तर केही दल भने पार्टी एकता र विभाजनका श्रृंखलालाई बढाउँदै महाधिवेशनबाट पञ्छिदै आई रहेका छन् । महाधिवेशनबाट पन्छिनेमा मधेशवादी दलहरु अग्रणी स्थानमा रहेको छ ।
पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) भित्र अध्यक्ष उपेन्द्र यादवलाई सोही दल भित्रबाट संघिय परिषद अध्यक्ष रहेका डा. बाबुराम भट्टराईले चुनौती दिएपछि पार्टीबाट नै उनलाई निश्कासन गरिएको छ । विरगंजमा भएको जसपाको केन्द्रिय समिति बैठकबाट भट्टराई सहित ९ जना कार्यकारिणी समितिका सदस्यहरुलाई पार्टी बाहिरको बाटो देखाइएको छ । पार्टी भित्रै फरक विचार राख्ने नेतालाई पार्टीबाटै निश्कासन गर्ने र महाविधेशनको मितिलाई तन्काउँदै नेतृत्वमा कायमै रह्ने अस्त्रको रुपमा मधेशवादी दल भित्र प्रयोग गरिदै आएको जानकारहरु बताउँछन् ।
यसका साथै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समेत महाधिवेशन छल्दै नेतृत्वमा कायम छन् । २०६५ सालमा उनकै नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी गठन भएको थियो । मधेस आन्दोलन चलिरहेकै बेला नेपाली काँग्रेसबाट विद्रोह गरेर ठाकुरले २०६४ वैशाख १० गते तमलोपा गठन गरेका थिए । तत्कालीन तमलोपाको पहिलो महाधिवेशन २०७३ असार ६ गते नवलपरासीमा भएको थियो । त्यस यता उनी एकता र विभाजनको शृङ्खला अन्तर्गत विभिन्न दलको नेतृत्वमा पुगे पनि महाधिवेशन सामना गरेका छैनन् ।
तत्कालिन मधेसी जनअधिकार फोरम नेपालजस्तै अध्यक्ष ठाकुरले पनि विभिन्न दलसँग एकीकरण गर्दै, विधान फेर्दै लोसपासम्म आइपुगेका हुन् । उनी १४ वर्षदेखि पार्टीको नेतृत्वमा छन् । तर अहिलेसम्म उनले नेतृत्व हस्तान्तरणको छाँटकाँट देखाएका छैनन् ।
२०७४ वैशाख ७ गते ठाकुर नेतृत्वको तमलोपा, महेन्द्रराय यादव नेतृत्वको तत्कालीन तराई मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र अनिल झा नेतृत्वको तत्कालीन संघीय सद्भावना पार्टी बीच एकीकरण गरेर राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो ।
सो पार्टीमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव र महेन्द्र राय यादवसहितको एउटा अध्यक्षमण्डल बनाइयो । ठाकुर २२ महिनासम्म अध्यक्षमण्डलको संयोजक भएर काम गरे । पछि दुई दुई महिनाको चक्रीय प्रणाली सुरु भएको थियो । तत्कालीन राजपा नेपालको विधान २०७४ मा एक वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने उल्लेख भए पनि निर्धारित समयमा महाधिवेशन हुन सकेन ।
यहाँसम्म कि तत्कालीन राजपाले महाधिवेशनको मिति सार्नका लागि दुई पटक आफ्नो विधान नै संशोधन ग¥यो । २०७५ वैशाखमा पहिलो पटक एकीकरण भएको दुई वर्षभित्र महाधिवेशन गर्ने निर्णय गरी विधान सच्याएर निर्वाचन आयोगलाई बुझाइएको थियो । त्यो अवधिमा पनि महाधिवेशन गराउन नसकेपछि २०७६ वैशाखमा दोस्रो पटक विधान संशोधन गरेर एकीकरण भएको तीन वर्षभित्र महाधिवेशन गरिसक्ने उल्लेख गरियो । तर तीन वर्षको अवधिमा तीनपटक मिति सारे पनि महाधिवेशन हुन सकेन ।
२०७७ वैशाख १० गते मध्यरात तत्कालीन राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालबीच एकीकरण गरेर जसपा नेपाल गठन भयो । जसपा नेपालमा दुईजना अध्यक्ष रहने तय भयो । त्यसमा महन्थ ठाकुर पहिलो वरीयताका अध्यक्ष बने । जसपा गठनपछि बनेको अन्तरिम विधानमा पाँच वर्षभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्ने उल्लेख थियो । त्यसअघि पार्टी समायोजनका सम्पूर्ण कार्य सम्पन्न गर्ने निर्णय गरिएको थियो । पार्टी समायोजनको काम सुरु भएपछि जसपामा आन्तरिक विवाद सुरु भयो । एक वर्ष विवादमै बित्यो ।
एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारमा सहभागी हुने विषयलाई लिएर जसपाभित्र उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच देखिएको विवाद अन्ततः पार्टी विभाजनसम्म पुग्यो । जसपाबाट अलग भएर महन्थ ठाकुरले आफ्नो अध्यक्षतामा लोसपा गठन गरे । लोसपाको अन्तरिम विधान २०७८ मा महाधिवेशन प्रत्येक पाँच वर्षमा हुने उल्लेख छ । तर विशेष कारणवश तोकिएको समयमा महाधिवेशन हुन नसकेमा अधिकतम ६ महिनासम्म कार्यसमितिको म्याद थप गर्न सकिने उल्लेख छ ।
यता २०६३ साल माघ ३ गते अधिकार प्राप्तिका लागि पहिलो मधेश आन्दोलन भयो । २०६३ माघ ३ गतेदेखि शुरु भएको पहिलो मधेश आन्दोलन पहिलो मधेश आन्दोलन १९ दिनसम्म चलेको थियो । सोही आन्दोलनको बलमा देशको संविधानमा संघियता शब्दले स्थान पाएको मधेशवादी दलका नेताहरुको दावी छ । त्यस लगत्तै २०६४ सालमा मधेशी जन अधिकार फोरमलाई राजनीतिक दलको रुपमा परिणत गरियो । पार्टीको अध्यक्ष उपेन्द्र यादवलाई बनाइयो । त्यस यता उनी कुनै न कुनै रुपमा लगातार १५ वर्षदेखि पार्टीको नेतृत्व मै छन् ।
आखिर मधेश केन्द्रित दलको नेतृत्व गरिरहेका यी नेताहरु महाधिवेशन किन फेस गर्न चाहँदैनन् यो प्रश्नको जवाफमा राजनीतिक विश्लेषक रोशन जनकपुरी भन्छन् ‘ कुनै विधि नेतृत्वमा रहि रह्नका लागि ।’ उनले कुनै पनी राजनीकित दलको औचित्यता सो दलको महाधिवेशनले गर्छ तर मधेश केन्द्रित दलका नेताहरु महाधिवेशन फेस गर्न नचाहेको आरोप लगाए ।
मधेश केन्द्रित दल महाधिवेशनको महत्व नै बुझ्न सकेका छैनन्, जनकपुरीले भने ‘महाधिवेशनले नै कुनै पनि दलको दिशा र दशा तय गर्छ तर यिनीहरु महाधिवेशनबाट गुज्रिन चाहँदैनन् ।’
महाधिवेशनले दलको विचार तयार पार्नुका साथै विचारमा परिवर्तन, पार्टीले गरेका कामहरुको समिक्षा तथा ती कामहरुको स्वीकारोक्ति वा अस्वीकारोक्ति प्रदान गर्छ । तर नेतृत्वमाथी नै प्रश्न खडा हुन सक्ने डरले मधेश केन्द्रित दल महाधिवेश गर्न नचाहेको जनकपुरीको भनाई छ ।
