पर्सा, साउन ३
सङ्घीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले घोषणा गरे अनुरुप वीरगञ्जमा प्राकृतिक चिडियाखाना स्थापना गर्ने निर्णय भएको छ । जिम्मेवारी सम्हालेसँगै मन्त्री यादवले वीरगञ्जमा चिडियाखाना स्थापना गर्ने प्रतिबद्धता अनुसार चिडियाखानाको सम्भाव्यता अध्ययन गर्न मङ्गलबार एउटा ८ सदसिय कार्यगल गठन गरेका हुन् ।
मङ्गलबार मन्त्री यादवकै सभापतित्वमा बैठक बसेको थियो । कार्यदलले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ सोलखपुर र वडा नम्बर ३२ रामवनमा चिडियाखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेर १० दिन भित्र मन्त्रालयमा प्रतिवेदन प्रस्तुत गर्ने छ । प्रतिवेदन पेश गरे लगत्तै यसै महिनाभित्र चिडियाखाना स्थापनाका लागि काम शुरु गर्न मन्त्री यादवले निर्देशन पनि दिएका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा कार्यदल गठन गरिएको मन्त्री यादवका उप–स्वकीय सचिव निखिल बर्णवालले जानकारी दिए ।
चिडियाखानाको स्थापनाले वीरगञ्ज क्षेत्रमा पर्यटकीय गतिविधि बढ्नुका साथै वन जङ्गल संरक्षणमा पनि टेवा पुग्ने मन्त्री यादवको विश्वास छ । ‘वीरगञ्जको बाटो हुँदै वर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिने गर्छन्, तर वीरगञ्जमा नबसेर अन्य ठाउँहरु घुम्न जान्छन्,’ मन्त्री यादवले भने, ‘किनभने पर्यटकलाई वीरगञ्जमा रोक्न सक्ने कुनै त्यस्तो लोभलाग्दो गन्तव्य छैन । त्यसैले पनि वीरगञ्जमा पर्यटक रोक्न र यहाँको आर्थिक गतिविधिलाई बढाउन चिडियाखाना स्थापना गर्न लागेका छौं । यसले पर्यटकीय र आर्थिक गतिविधि पनि बढ्ने विश्वास लिएको छु ।’
बैठकमा सहभागी मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जमा चिडियाखाना स्थापना गर्नका लागि प्रदेश सरकारले पनि हरेक सहयोग गर्न तयार रहेको बताए । प्रदेश सरकारले चिडियाखाना स्थापनाका लागि जग्गा उपलब्ध गराउनेदेखि बजेट व्यवस्थापनमा समेत सहयोग गर्न मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गरेका छन् ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि चिडियाखाना स्थापनाले पर्यटकीय गतिविधि बढ्नुका साथै वन जङ्गलमा भइरहेको अतिक्रमण रोक्न सघाउ पुग्ने बताए । चिडियाखाना स्थापनाका लागि जग्गा उपलब्ध गराउन र मन्त्रालयसँग समन्वय गर्न महानगरको कार्यपालिका बैठकले निर्णयसमेत गरिसकेको मेयर सिंहले जानकारी दिए ।
