जनकपुर, साउन ४
अन्नभण्डारणको रुपमा रहेको मधेस प्रदेशमा करिब दुई साता देखि पानी नपर्दा आकाशे पानीका भरमा रहेका किसानहरु निकै चिन्तित बनेका छन् ।
साउन लाग्दा समेत पानी पर्ने अतोपतो नहुँदा धान रोपाइँ पनि सुस्त छ । भने धानको वीउ लगाईएको खेतहरुमा धाँजा फाट्न थालिसकेको छ ।
असारको दोस्रो सातादेखि पानी नपर्दा चर्को घामका कारण बीउ सुक्न थालेको छ भने जसोतसो रोपिएको धान खेतमा धाँजा फाट्न थालेको छ ।
मधेश प्रदेशमा अहिलेसम्म ५७ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
८ वटै जिल्लामा ५ लाख ५५ हजार २ सय १८ हेक्टर खेतीयोग्य जग्गामध्ये ४ लाख ५ हजार ४ सय ५० हेक्टर धान खेती हुने गर्छ । जसमध्ये २ लाख २९ हजार १ सय ६७ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको मधेस प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
सप्तरीमा सबैभन्दा बढी धान रोपाइँ भएको छ भने पर्सामा सबै भन्दा कम रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
सप्तरीमा ७५ प्रतिशत, सिरहामा ५५ प्रतिशत, धनुषामा ६० प्रतिशत, महोत्तरीमा ४५ प्रतिशत, सर्लाहीमा ५५ प्रतिशत, रौतहटमा ५० प्रतिशत, बारामा ६० प्रतिशत र पर्सामा ४२ प्रतिशत रोपाइँ भएको मन्त्रालयका अधिकृत मनीष पालले जानकारी दिए ।
समयमा पानी नपर्दा रौतहटका किसानले भने धान नै रोप्न पाएका छैनन् । आकाशे पानीको भरमा रहँदा अहिलेसम्म रौतहटमा ५० प्रतिशत मात्र खेतमा धान रोपाइँ भएको छ । अघिल्लो वर्षको तुलनामा भने यस वर्ष आधा मात्रै धान रोेपाइँ भएको छ । धान रोपाइँ सकिसक्नुपर्ने भएपनि आकाशे पानी नपर्दा रोपिएको धानपनि सक्न थाल्दा किसान चिन्तित बनेका छन् ।
कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीका अनुसार जिल्लामा यस बर्ष अहिले सम्म धान रोपाई हुने कुल क्षेत्रफलको ४५ प्रतिशत हाराहारीमा मात्र धान रोपाई भएको हो । गत बर्षको अनुपातमा यस बर्ष अहिले सम्म ५० प्रतिशत कम क्षेत्रफलमा धान रोपाई भएको छ । गतबर्ष यसबेला सम्म ८० प्रतिशत बढि क्षेत्रफलमा किसानहरुले धान रोपी सकेका ज्ञान केन्द्रले जनाएको छ । किसानले पछिल्लो समय मन्सुली, कतर्नी, सावित्रीलगायतका धान लगाउने गरेका छन् । यस वर्ष डुबानको समस्या नभएमा धान उत्पादनमा गिरावट नआउने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
चर्को घाम र सिँचाइको अभावका बीच सप्तरीमा ७५ प्रतिशत रोपाइँ सकिएको छ । रोपाइँ सकिएपनि सिँचाइ नपुग्दा केही भागमा खेतमा धाँजा फाट्न थालेको छ ।
त्यस्तै सप्तरीमा ८१ हजार ६ सय ६८ हेक्टर धान खेतीयोग्य जग्गा रहेको छ ।
एकातर्फ मलखाद्यको अभाव र अर्कोतर्फ सिँचाइ सुविधा नहुँदा रोपाइँमा समस्या हुनुका साथै रोपिसकेको खेतमासमेत समस्या हुन थालेको छ ।
समयमा पानी नपर्दा निकै समस्या भएको भन्दै जनकपुरधाम वडा नम्बर २० बस्ने किसान रामवकिल साहले भने, ‘वाली लगाउने बेलामा पानी पर्दा निकै रमाइलो गरि धानवाली लगाइयो, तर अहिले त पानीको अभावमा खेत नै सुक्न थालेको छ ।’ उनले अघि थप्दै भने, ‘अब कसरी के गर्ने होला, खै ठेगान छैन ?’
वर्षाको सिजन असार वितेपनि बारामा पानी नपरेकाले रोपाइँ हुन सकेको छैन । पानीको अभावले ब्याडसमेत सुक्न थालेको छ ।
धान रोपाइँ सुरु हुनु अघि नै मनसुन सक्रिय भई वर्षा भएको थियो । तर त्यतिबेला ब्याड तयार भने भएको थिएन । अहिले रोपाइँका बेलामा पनि वर्षा भएको छैन ।
किसान शिवनाथ साहका अनुसार आकाशे पानीको भरमा रहँदा भगवानले पनि नहेर्दा रहेछ भन्दै उनले दुखेसो पोखे । सिचाईको उचित व्यवस्था र मलखाद्यको अभावका कारणले खेतमा लगाइएको धान पनि पानीको कारण नउब्जेमा सुख्खाले खडेरी लाग्ने उनले बताए ।
वर्षा नहुँदा रौतहट, बारा, धनुषा, महोत्तरी, सर्लाहीमा पनि रोपाइँ प्रभावित बनेको छ ।
यस वर्ष सिँचाइको अभावमा असार वितेपनि उल्लेख्य रूपमा रोपाइँ हुन सकेको छैन । केही स्थानमा झन्डै चार साताअघि समान्य वर्षामा किसानले बल्लतल्ल रोपाइँ सकेको थियो । किसानहरु अहिले खडेरीको सामना गर्नुपरेको छ ।
रोपाइँमा ढिलाइ तथा केही स्थानमा रोपिएको धान पनि पानी अभावले सुकिरहेकाले यसको समग्र असर उत्पादनमा हुने भएपछि किसान चिन्तित बनेका छन् ।
यता मन्त्रालयका अधिकृत पालले मधेश प्रदेशमा अधिकांश खेतमा पानीको सिचाईको व्यवस्था रहेको दावी गरे । उनले दमकल, चापाकलमा मोटर लगाएर भएपनि किसानले धानमा सिचाई गरेपनि केही किसानलाई भने धान खेतीमा समस्या उत्पन्न भएको बताए । पानी नपरेमा समग्र रोपाइँमा नै असर पर्न सक्ने उनले अनुमान समेत लगाए ।






