एजेन्सी, साउन ५
भारतमा राष्ट्रपति निर्वाचनको मतगणना हुँदैछ । जुलाई १८ मा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना आज बिहान ११ बजेबाट सुरु हुने छ ।
तर निर्वाचनमा सत्तारुढ लोकतान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट आदिवासी सन्थाल महिला द्रौपदी मुर्मु र विपक्षीका तर्फबाट यशवन्त सिन्हा प्रतिष्पर्धामा छन् । मुर्मुको जित निश्चित जस्तै भएकाले मतगणना औपचारिक मात्र भएको भारतीय सञ्चारमाध्यमहरुको भनाई छ । दिउँसो चार बजेसम्म मत परिणाम आउने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भारतीय जनता पार्टीले द्रौपदी मुर्मुको विजयको उत्सव मनाउन व्यापक तयारीमा जुटेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुलाई तिनमूर्ति मार्गमा रहेको उनको अस्थायी आवासमा भेट्ने र चुनावी नतिजा घोषणा भएपछि बधाई दिने योजनामा रहेको बताइएको छ ।
मुर्मुको गृहनगर ओडिसा स्थित रायरङपुरका बासिन्दाहरू पनि २०,००० मिठाईहरू तयार पारेर उत्सव मनाउने तयारीमा जुटेका छन् ।
