जनकपुर, साउन ५

मधेश प्रदेशमा गत आर्थिक वर्षमै काम सम्पन्न हुँदा समेत करिब २ अर्ब रुपैयाँ भुक्तानी हुन सकेको छैन ।

आर्थिक वर्ष ०७८\७९ मा काम सम्पन्न भएको मध्ये १ अर्ब ७५ करोड ३ लाख ६ हजार ५ सय ३८ रुपैयाँ भुक्तानी हुन नसकेको हो ।

मन्त्रालयमा कर्मचारी अभाव र ईन्टरनेटको सर्भर डाउनका कारण सो रकम भुक्तानी हुन नसकेको जनाइएको छ । भुक्तानी हुन नसकेको रकम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटबाट दिने गृहकार्य शुरु गरेको अर्थ मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले जानकारी दिए । उनले सरकारले चालु आर्थिक वर्षको बजेटमा विविध शीर्षकबाट भुक्तानी दिने बताए ।

असार ३२ गते संसदमा भुक्तानी बारे सांसदहरुले आवाज उठाएपछि सभामुख सरोजकुमार यादवले भुक्तानी हुन बाँकी रहेको रकम बारे विवरण प्रदेशसभामा बुझाउन अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई निर्देशन दिएका थिए ।

मन्त्रालयले भुक्तानी हुन बाँकी रहेका सबै निकायबाट विवरण मगाई मंगलबार सभामा पेश गरिसकेको छ । संसदले अनुमोदन गरेपछि अर्थ मन्त्रालय र प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयलाई अनुमोदन भएको आदेश पठाएपछि भुक्तानी हुने उनले बताए । संसदबाट अनुमोदन भएको आदेश आउने बित्तिकै भुक्तानी हुने उनको भनाई छ ।