काठमाण्डौ, साउन ६
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधिसभाको वैठकबाट बहुमतले पारित भएको छ ।
शुक्रबार नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएपछि बहुमतले पारित भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राष्ट्रिय प्रजातन्त्र पार्टीले सो विधेयकको विपक्षमा थिए । प्रतिपक्षी दलले वैवाहिक अंगीकृत नागरिकतालाई ७ वर्ष समय राख्नुपर्ने भन्दै विधेयकको विपक्षमा मतदान गरेका हुन् । सत्तापक्ष तथा प्रतिपक्षी दलका ४५ जना सांसदले ९४ वटा विषयमा संसोधन प्रस्ताव समेत राखेका थिए ।
वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा समयसीमा राख्नुपर्ने विषयमा अधिकांश सांसदले संसोधन प्रस्ताव दर्ता गराएका थिए ।
विधेयकमाथि दफावार छलफलपछि सभामुख अग्नि सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्षका सांसदहरुले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए ।
प्रतिनिधि सभाबाट पास भएको सो विधेयकले वैवाहिक अंगीकृत नागरिकता कसरी कुन विधिबाट दिने भन्ने व्यवस्था भने समेटेको छैन ।
यसबारेमा पछि राजनीतिक दलबीच छलफल गरेर टुङ्गोमा पुग्ने गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । प्रतिनिधि सभाबाट पारित भएको सो विधेयकमाथि अब राष्ट्रियसभामा पनि छलफल हुने भएको छ ।
