एजेन्सी, साउन १०

भारतको बिहारका राज्यका मुख्यमन्त्री नितिशकुमार कोरोना संक्रमित भएका छन् । स्वास्थ्य विभागले मुख्यमन्त्री नितिशकुमारलाई कोरोना संक्रमित भएको पुष्टि गरेको हो ।

चिकित्सकहरुले मुख्यमन्त्री नितिशकुमारलाई आराम गर्न सल्लाह दिएको जनाएको छ । स्वास्थ्य विभागका अतिरिक्त मुख्य सचिव प्रत्याय अमृतले मुख्यमन्त्री नितिशकुमारको स्वास्थ्य विगत दुई दिनदेखि राम्रो नभएको बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

सोमबार राति मुख्यमन्त्रीको कोरोना परीक्षण गर्दा उनीमा कोरोना संक्रमित भएको पाइएको थियो । मुख्यमन्त्रीको एसओपीले दिएको जानकारी अनुसार उपचार भइरहेको र अहिले मुख्यमन्त्रीको स्वास्थ्य अवस्था ठीक छ । पछिल्लो समय बिहारका धेरै राजनीतिज्ञहरु यो महामारीको चपेटामा परेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पटना भ्रमण हुनुअघि बिहारका उपमुख्यमन्त्रीसहित कैयौं क्याबिनेट मन्त्रीहरू पनि कोरोना संक्रमित पाइएका बताइएका छन् । बिहारमा लगातार कोरोनाका संक्रमित केसहरू भेटिन थालेका छन्, तर बिरामी परेकाहरूको निको हुने काम द्रुत गतिमा भइरहेको सञ्चारमाध्यमले जनाएको छ ।

दैनिक एक लाखभन्दा बढी व्यक्तिको नमूना परीक्षण भइरहेपनि ३३ देखि ३४ जिल्लामा हरेक दिन नयाँ संक्रमण आउने क्रम जारी रहेको छ । बिहारमा पछिल्ला केही दिनमा कोरोना भाइरस बिरामीहरूको संख्या एकदमै तीव्र गतिमा बढिरहेको जनाइएको छ ।