जनकपुर, साउन २०

नेकपा एमालेका केन्द्रिय सचिव रघुवीर महासेठले नेकपा एमाले एक नम्बरको पार्टी बन्ने दावी गरेका छन् ।

शुक्रबार जनकपुरधाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ धनुषाको प्रथम जिल्ला सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहेका सचिव महासेठले मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा एमाले एक नम्बर पार्टी बन्ने दावी गरेका हुन् ।

उनले भने, ‘अब हुने निर्वाचनमा एमाले एक नम्बर पार्टी बन्छ, कसैले पनि एमालेलाई कुनैपनि बहानाबाजी गरेर केही हुनेवाला छैन ।’ उनले अघि थप्दैँ भने, ‘यसका लागि नेतृत्वपंक्तिले योजनाबद्ध रुपमा कार्ययोजनालाई आत्मसात गर्दै कार्यान्वयन गर्नेछ ।’

उनले एमालेको देखासिखि गर्दै विश्वमा चार वटा देशमा कम्यूनिष्टहरु निर्वाचनमा सहभागी हुन थालेको बताए । उनले नेपालमा चुनावको माध्यमले कम्यूनिष्टले दुई तिहाईको सिट जितेर मुलुकमा सरकार बनाउन सफल भएको बताए ।
उनले एमालेले जनताको बहुदलीय जनवाद सिद्धान्तलाई आत्मसात गर्दै मुलुकमा अहिलेसम्म ठुलो पार्टीको रुपमा स्थापित रहेको बताए ।

उनले एउटा साना तथा ठुला व्यापारीको कथा सुनाउँदै भने माधव नेपालले एमालेको अगाडी सानो पार्टी खोलेर प्रचण्ड र माधव नेपालले चिनीको व्यापार गरिरहेको व्यंग्य समेत गरे । उनले उनीहरुले चीनिको व्यापार गरेर एमालेलाई तर्साउन खोजेको समेत भने ।

सो क्रममा ३१ सदस्यीय लोकतान्त्रिक आदिवासी जनजाति महासंघ धनुषाको अध्यक्षमा चन्द्रबहादुर मोक्तान, उपाध्यक्षद्वयमा अन्जनकुमार रन्जन, श्यामसुन्दर अधिकारी दनुवार, सचिवमा नन्दलाल आले, विन्दादेवी, उपसचिवमा अरुण मण्डललगायतकालाई चयन गरिएको छ ।