जनकपुर, साउन २०
१७ दिन देखि रिले अनसनमा बसेका चुरे संरक्षण तथा भूमिहिन सुकुम्वासीहरुले मधेश प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।
शुक्रबार जनकपुरधामको जनक चोकमा रिले अनसन गर्दै आएका सुकुम्बासी आन्दोलनकारीहरुले मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई साडी, चुरा र लहठी दिने भन्दै मुख्यमन्त्रीको कार्यालयसम्म पुगेका थिए । तर सुकुम्बासीहरुको समुहलाई भने सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितीले घेरेपछि उनीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोटलगायतका सामग्रीहरु फ्यालेर सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।
चुरे तथा वनजंगल संरक्षण अभियानको अगुवाईमा अनसनरत्त सुकुम्बासीहरुले जनकपुरधामको नगर प्रदर्शन गर्दै मधेश प्रदेश सरकारका मन्त्रीहरुलाई साडी, ब्लाउज, चुरा, पेटिकोट बुझाउन नसकेपछि सडकमै फ्यालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
सिरहाको मिर्चैयामा रहेको मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरधामको जनकचोकमा रिले अनसनमा बस्दै आएका छन् ।
मधेश प्रदेश सरकारसँग भएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न ढिलाई गरिएको भन्दै उनीहरु रिले अनसनमा बस्दै आएका छन् ।

अनसनकारीका तर्फबाट राखिएको ५ बुँदे मागका सम्बन्धमा छानबिन गर्न प्रदेश सरकारले सहमति भएको मितिबाट ७ दिनभित्र प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको उपसचिवको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।
तर, निर्णय कार्यान्वयन गर्न प्रदेश सरकारले ढिलाई गरेकोले आफूहरू फेरि अनसनमा बसेको चुरे तथा वनजंगल संरक्षण अभियान धनुषाका संयोजक अमन यादवले बताए ।

उनीहरुले चुरे अभियन्तामाथि लगाइएको झुटा मुद्दा खारेज हुनुपर्ने, वन नियमावली २०५१ को दफा २२ लाई मिचेर डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले आर्थिक कार्यक्रम सञ्चालन गरेको र सो कुन आधारमा गरेको हो ।

त्यसको छानबिन हुनुपर्ने, गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय सिरहाले कोटेसनमार्फत खरिद गरेको फलफूल बिरुवा खरिदमा गरेको अनियमितताको छानबिन हुनुपर्ने र आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा डिभिजन वन कार्यालय सिरहाले गरेको कार्यमाथि छानबिन हुनुपर्नेलगायतका माग उनीहरुले गरेका छन् ।




