जनकपुर, साउन २२

संंघीय सरकार विरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने जनाएका छन् ।

आइतबार मधेश प्रदेशको गृह तथा संचार मन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्र मार्फत प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।

सात दिन भित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रकृया आरम्भ नगरेमा शान्तिपूर्ण आन्दोलन गर्ने भन्दै चेतावनी समेत गृह तथा सञ्चार मन्त्री साहले दिए । उनले भने, ‘हामीले पटक–पटक प्रहरी समायोजन गर्न संघीय सरकारसँग आग्रह गर्दै आएका छौँ’, गृह तथा संचारमन्त्री साहले भने, ‘तर संघीय सरकारले बेवास्ता गर्दै आएको छ, यदी एक सातासम्ममा पनि प्रहरी समायोजन नभएमा हामी बाध्य भएर संघर्षमा उत्रिने छौँ ।’

प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाउनका लागि मन्त्री साह, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटन मन्त्री शत्रुधन महतो, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मालगायतकाहरुको उपस्थिति रहेको थियो ।

मधेश सरकारको अगुवाइमा गत असार २३ मा सात वटै वटा प्रदेशका आन्तरिक तथा गृहमन्त्रीको भेलाबाट प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनको आधारमा संघीय सरकारले साउन महिनाभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेका थिए । मधेस प्रदेस सरकारको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा सहित गठबन्धन दलका शिर्ष नेताहरुसँग भेटघाट गर्दै प्रहरी समायोजनका लागि ध्यानाकर्षण गराएका थिए ।