जनकपुर, साउन २३

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मधेश केन्द्रित दलबीच तालमेलका लागि कसरत शुरू भएको छ ।

संघ र प्रदेशको चुनाव घोषणासँगै मधेश केन्द्रित दलबीच तालमेलका विषयमा छलफल हुन थालेको छ । यसका लागि जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश केन्द्रितका दलका नेतासँग छलफल शुरू गरेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा राउत नेतृत्वको जनमत पार्टी नयाँ शक्तिका रूपमा आएको छ । दुई स्थानीय तहको प्रमुख र १९ वडाध्यक्ष जितेको थियो। मधेश केन्द्रित दलमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पछि तेस्रो नम्बरमा रहेको जनमत पार्टी अध्यक्ष राउतले तालमेलका लागि भेटघाट शुरू गरेको जनाइएको छ ।

राउतले जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटघाट गरेका छन् । यादव र ठाकुरसँगको भेटपछि राउतको सचिवालयले सामाजिक सञ्जाल मार्फत जानकारी दिंदै लेखेको छ, ‘सकारात्मक सोचौं (अरू पार्टीले पनि समर्थन गर्छन् र सहकार्य हुन्छ) ।’

राउतले सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन् । गत निर्वाचनमा यस क्षेत्रबाट जसपा अध्यक्ष यादव निर्वाचित भएका थिए । यादवसँगको भेटमा त्यस विषयमा पनि छलफल भएको राउतको सचिवालयले जनाएको छ ।

यादव र ठाकुरसँग तालमेल गरेर जाने विषयमा छलफल भएको जनाइएको छ । दुवै जनासँगको छलफल सकारात्मक रहेको राउतले जनाएका छन् । “एकातिर पाँच–सात ठूल्‍ठूला दलहरूको गठबन्धन हुने भएपछि जनमत पार्टी एक्लै, कसैसँग कुनै सहकार्य नै नगरी जानु स्थानीय निर्वाचनमा झैं आत्मघाती हुन सक्छ,” राउतको सचिवालयले भनेको छ, “त्यसैले जिल्ला÷निर्वाचन क्षेत्र अनुसार समझदारी र सहकार्य हुन सक्ने सम्भावना पनि छ ।”

मधेश केन्द्रित दलबीच आगामी चुनावमा तालमेल हुन सक्ने जसपा र लोसपाका नेताहरू पनि बताउँछन् । जसपा केन्द्रीय कार्यकारणी समिति सदस्य मनीष सुमनले पाँच दलीय गठबन्धनलाई जोगाउँदै मधेशमा विचार मिल्ने अन्य दलसँग पनि तालमेल हुनुपर्ने बताए । “जनमत र लोसपासँग पनि तालमेल हुन सक्छ,” सुमनले भने ।

सप्तरी २ मा भने राउतले जसपा अध्यक्ष यादवलाई छोडेर अन्य क्षेत्र रोज्नुपर्ने उनको भनाइ छ।” डा. राउत सप्तरी २ बाट लड्नुहुन्छ भन्ने सुनेको छु । उहाँले त्यो हठ त्याग गरेर उपेन्द्र यादवजीलाई सघाउँदा नै बेस हुन्छ,” सुमनले भने, “यदि लड्नुहुन्छ भने त्यो निर्वाचन उहाँका लागि एउटा कर्मकाण्ड मात्रै हुनेछ, उपेन्द्रजीको नै जित सुनिश्चित छ ।”

त्यस्तै, लोसपा नेता पनि मधेश केन्द्रित दलसँग तालमेल गर्नुपर्नेमा जोड दिन्छन् । लोसपा मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पहिलो प्राथमिकता पाँच दलीय गठबन्धन नै भएको बताए । “पाँच दलीय गठबन्धनसँग सम्भव भएन भने एमालेसँग गठबन्धनमा जान्छौं,” सोनलले भने ।

त्यससँगै मधेश केन्द्रित दलसँगको तालमेल पनि आवश्यक रहेको उनको भनाइ छ । “हाम्रो प्राथमिकतामा अहिले संसद्मा रहेका दलहरूबीचको गठबन्धन रहेको छ,” सोनलले भने, “राजनीतिमा असम्भव कुनै कुरा हुँदैन। राउतसँग पनि गठबन्धनको सम्भावना रहेको छ ।”

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तालमेल भएको थियो । अन्य ६ प्रदेशमा एमाले र माओवादीको सरकार बनेको भए पनि मधेशमा समाजवादी र राजपाको सरकार बनेको थियो ।