रौतहट, साउन २३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार विकास विरोधी रहेको दावी गरेका छन् ।
रौतहटको गौरमा सोमबार नेकपा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकारको विकास विरोधी रहेको भन्दै आलोचना गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । देशलाई निकास दिने भनेको एमाले नै हो,’ उनले अघि थप्दैँ भने, ‘आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ ।’

उनले आफू प्रधानमन्त्री भएको बेला रौतहटको विकासका लागि छनौट गरिएका धेरै योजनाहरु गठबन्धनको सरकारले हटाएको आरोप लगाए । उनले भने, ‘माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा रौतहटको विकासका लागि सिन्कासमेत भाँचेनन्,’ उनले भने,‘अहिले आएर ठूला कुरा गर्न थालेका छन् ।’ उनले अरु पार्टीले २०–२५ वर्षमा गर्न नसकेको काम एमालेले ३ वर्षमा गरेर देखाएका दाबी गरे । ‘यही जिल्लाका नेपालले २१ महिना प्रधानमन्त्री हुँदा जिल्लाको विकासका नाममा सिन्को पनि भाँचेनन्,’ थपे ।

उनले तराई मधेसमा हुने डुबान समस्या समाधानका लागि आफूले भारतसँग कुरा गरेको तर अहिलेको सरकारले केही गर्न नसकेको सुनाए । उनले सभामा आफू मधेसविरोधी नभएको भन्दै मधेशका जनतालाई फकाएका बताए ।

उनले भने, ‘म प्रधानमन्त्री हुँदा मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम भयो,’ उनले भने, ‘हुलाकी राजमार्ग भन्नुहोस् कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाए, धेरै काम भए ।’ उनले तराई मधेसको विकास र देशलाई समृद्धका लागि एमालेले अबको चुनाव जित्नु पर्ने समेत बताए ।

खराब मौसमका कारण अध्यक्ष ओली चढेको हेलिकप्टर सिमरामा अवतरण भएको थियो । त्यहाँ करिब डेढ घण्टा भन्दा बढी समय कुरेर अध्यक्ष ओली रौतहट आएका थिए ।
लोसपाबाट अघिल्लो स्थानीय तह निर्वाचनमा गौर नगरपालिकाबाट नगरप्रमुखमा चुनाव जितेका अजय गुप्ता एमाले प्रवेश गरेका छन् ।