जनकपुर, साउन २५

नेकपा एमालेकी पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।

अगामी मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन घोषणा भएसँगै उनले रातोपाटीसँग कुराकानी गर्दै धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी घोषणा गरेकी हुन् ।

यस पटक भएको स्थानीय तहको निर्वाचनमा नगराईन नगरपालिकामा बहुमतीय वडासहित उपमेयर पदसमेत एमालेले जितेपछि उनले विगत भन्दा यसपटक निकै सहज हुने देखेपछि उम्मेदवारी घोषणा गरिन् ।

उनले विगतमा काँग्रेसका नेता विमलेन्द्र निधिले अब हुने निर्वाचनमा यस क्षेत्रबाट आफु उम्मेदवारी नदिइने भन्दै सार्वजनिक भाषण दिएको स्मरण गर्दै नेतृ जुली महतोले आफ्नो लागि यस पटक क्षेत्र नम्बर ३ को सिट सुरक्षित रहेको दावी गरिन् ।

यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमालेले राम्रो मत प्राप्त गरेको आँकलन गर्दै उनले भनिन्, ‘विगतमा करिब १५ सय भन्दा कम मतले आफुले पराजित भएपनि जनता र पार्टीका नेता तथा कार्यकर्ताहरुसँग राम्रो सम्बन्ध रहेकाले आफुलाई चुनाव लड्नका लागि समेत व्यापक दवाव आईरहेको छ ।’

उनले अघि थप्दैँ भनिन्, पाँच दलीय गठबन्धन भएपनि एमालेले एक्लै स्थानीय तहको निर्वाचनमा मत परिणाम राम्रो ल्याउन सफल भएको र यस पटक पनि गठबन्धन भित्रै पनि व्यापक असन्तुष्टीहरु छन्, तथापि आफुसँग जनता रहेकाले एमालेको जीत सुनिश्चित छ ।’ अर्को प्रसंगमा उनले प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदमा प्रत्यक्षबाट ५० प्रतिशत महिलालाई निर्वाचनमा उम्मेदवार बनाउन एमालेलगायत विभिन्न दलसँग आग्रह समेत गरिन् । उनले महिलालाई समानुपातिक कोटामा सिमित नगरि प्रत्यक्षतर्फबाट पनि उम्मेदवार बनाएर निर्वाचनमा उम्मेदवार बनाउन माग गरिन् ।

उनले विगतको स्थानीय तहको निर्वाचनमा केही मेयर र अधिकांश उपमेयर पदमा महिला निर्वाचित भएपनि यस पटक मधेश प्रदेशसहित देश भरका अधिकांश स्थानीय तहमा उपमेयर पद समेत पुरुषलाई बनाएको भन्दै उनले भनिन्, ‘महिलालाई प्रत्यक्ष निर्वाचनमा पनि उम्मेदवार बनाएमा महिलाले प्रत्यक्षरुपमा सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक परिवेशमा आमुल परिवर्तनका लागि नेतृत्वदायी भुमिका खेल्न सक्नेछ ।’

तर महिलालाई समानुपातिक सुचिमा राखेर महिलालाई हरेक निर्णायक अधिकारबाट मुलधारका राजनीतिक दलले बेवास्ता गर्दै आएको आरोप समेत उनले लगाइन् ।

विगतको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पूर्वमन्त्री जुली महतो काँग्रेसका नेता समेत रहेका पूर्व गृहमन्त्री विमलेन्द्र निधिसँग करिब १५ सय मतले पराजित भएकी थिइन् ।

०७४ मा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्र र एमालेको गठबन्धनबाट माओवादीका रामसिंह यादव उम्मदवार थिए । तर एमालेको एक समुहले तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोलाई आन्तरिक सहयोग गरेकाले निर्वाचित भए ।

यता नेता निधिले भने लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई समेत गठबन्धनका लागि लविंग थालेसँगै गठबन्धनको तर्फबाट राजेन्द्र महतो वा विमलेन्द्र निधि मध्ये कुनै एक जना उम्मेदवार बन्ने अड्कलवाजी स्थानीयस्तरमा भईरहेको छ ।

धनुषाको क्षेत्र नम्बर ३ मा नगराईन नगरपालिका, धनौजी नगरपालिका, मुखियापट्टी मुसहरनीया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाको १० वटा वडा पर्दछ ।