जनकपुर, साउन २७
मधेश प्रदेशमा व्यापक गुटबन्दीका भएको कारण स्थानीय तहको निर्वाचनमा माओवादीले निकै क्षती बेहोर्नु परेको छ । जसका कारण अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेशको देखिएको गुटबन्दी मत्थर पार्न पहल थालेका छन् ।
मधेश प्रदेशमा माओवादीमा तत्कालिन जनमोर्चाबाट आएका नारायणकाजी श्रेष्ठ प्रकाश र गिरिराजमणि पोखरेलका कारण जनयूद्धकालिन नेता तथा कार्यकर्तालाई बेवास्ता गर्दै अघि बढ्न थालेपछि माओवादी कमजोर भयो भने प्रकाश र पोखरेलले आफ्नो गुटलाई मौलाउँदै लगेको आरोप लाग्ने गरेको छ । विशेषगरि माओवादीका नेता शहिद रामवृक्ष यादवको प्रतिमालाई महोत्तरी स्थित खयरमारामा रहेको एक क्याम्पसबाट हटाएपछि माओवादी भित्रको गुटबन्दी छरपष्ट भएको थियो । उनीहरुलाई नेता मातृकाप्रसाद यादवले काउन्टर दिँदै आएको थिए ।
नेता यादव र नेता पोखरेल बीचको अन्तरद्वन्द्वका कारण समग्र मधेसमै पार्टीलाई धक्का लागेको निष्कर्षका साथ अध्यक्ष प्रचण्डले पहल थालेका हुन् । प्रचण्डले दुई नेतालाई खुमलटार स्थित निवासमा बोलाएर प्रदेश र संघीय चुनावमा पार्टीलाई एकढिक्का बनाउन निर्देशन दिएका छन् ।
अध्यक्ष प्रचण्डले कुनैपनि बहाना वा नाममा गुटबन्दी नचल्ने भन्दै पार्टीलाई केन्द्रीत बनाउन निर्देशन दिएको एक नेताले जानकारी दिए । प्रचण्डले गत साउन २० गते जापान जानुअघि स्थायी समिति सदस्यद्वय यादव र पोखरेललाई खुमलटार बोलाएर छलफल गरेका थिए ।
पार्टी वरिष्ठ नेता प्रकाशलाई समेतसँगै राखेर भएको छलफलमा अध्यक्ष प्रचण्डले दुई नेता मिलेर अघि बढेमा मधेसमा पार्टीलाई पुरानै अवस्थामा फर्काउन सकिने धारणा राखेका थिए । उनले भने, ‘मधेसमा माओवादी नमिल्दा अरु प्रक्रियावादीले फाइदा उठाए । हामी हार्दा मधेसी, जनजाति दलित, मुस्लिम, अल्पसंख्यक वर्ग र समुदाय कमजोर भए । अब प्रदेश र संघको चुनावमा हामी कमजोर हुने छुट छैन’ खुमलटार भेटका विषयमा उल्लेख गर्दै एक स्थायी समिति सदस्यले भने, ‘तपाईहरु पूर्व एकता केन्द्र मसाल वा माओवादीका नाममा त्यस्तै प्रचण्ड वा नारायणकाजी गुटका नाममा राजनीति गर्न पाउनुहुन्न ।’
यदि कुनै नेताको मनमस्तिष्कमा आग्रह पूर्वाग्रह भए त्यसलाई त्याग गर्न निर्देशन दिँदै ८ जिल्लाको संगठन परिचालनमा केन्द्रीत हुन प्रचण्डले आग्रह गरेका थिए । ‘पार्टीमा कसलाई न्याय भयो कसलाई अन्याय भयो त्यो सबै मैले बुझेको छु । अहिले न्याय अन्याय छुट्याउने बेला छैन’ प्रचण्डको भनाई उदृत गर्दै ती नेताले भने, ‘प्रदेश र संघको चुनाव सकिएपछि सबै घटनाक्रमको विश्लेषण गरेर उचित न्याय दिइनेछ ।’
सो क्रममा अध्यक्ष प्रचण्डले दुबै नेतालाई मधेसको कार्यक्रममा सँगसँगै हिँड्न पनि निर्देशन दिएको ती नेताले बताए । सो निर्देशनपछि उनीहरुले मधेसका पर्सा र सर्लाही जिल्लामा पुगेर पार्टी अगुवा नेता कार्यकर्तालाई चुनावमा केन्द्रीत हुन निर्देशन दिइसकेका छन् । दुई नेता अरु जिल्लामा समेत पुगेर चुनाव केन्द्रीत भेला, प्रशिक्षण र संगठन परिचालन गर्ने जनाइएको छ ।
मधेसमा यादव र पोखरेल गुटमा विभाजित हुँदा गत वैशाख ३० गतेको स्थानीय चुनावमा माओवादीले नराम्रो नतिजा ल्याएको थियो । २०७४ सालको चुनावमा माओवादीले २१ स्थानीय तह जितेपनि गुटबन्दी हुँदा गत वैशाख ३० गतेको चुनावमा ९ स्थानीय तह मात्रै जितेको थियो । यो विषय पार्टीभित्र बारम्बार जोडतोडका साथ उठ्दै आएको छ भने गत केन्द्रीय समिति बैठकमा पनि प्रचण्डले गुटबन्दी नगर्न निर्देशन दिएका थिए ।
सोको अन्तर्घातबारे छानबिन गर्न समिति पनि बनाइएको थियो । तर सो समितिले भने हालसम्म रिपोर्ट दिन सकेको छैन ।
