जनकपुर, साउन २७
मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसबाट प्रतिनिधि गरिरहेका मन्त्रीहरुको काम कारवाही प्रति काँग्रेसको नेतृत्वपंक्ति नै असन्तुष्ट छन् ।
नेपाली कांग्रेस मधेश प्रदेश समितिको बसेको प्रदेश कार्य सम्पादन समितिको बैठकमा पार्टीबाट मन्त्री बनेकाहरुको कामप्रति जनता र पार्टीका नेता तथा कार्यकर्ता समेत असन्तुष्ट रहेको ठहर गरेको जनाइएको छ ।
सो बैठकले मधेस सरकारमा सहभागी भएका मन्त्रीहरुलाई कामकारवाहीलाई प्रभावकारी बनाउन निर्देशन समेत दिएको छ ।
मधेस प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा रामसरोज यादव, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयमा वीरेन्द्रप्रसाद सिंह र खानेपानी तथा ऊर्जा विकास मन्त्रालयमा ओमप्रकाश शर्मा मन्त्री छन् ।
सो बैठकले मधेस प्रदेशका संघीय र प्रदेशसभा निर्वाचनको क्षेत्रको वस्तुअवस्थाको विश्लेषण गरि प्रतिवेदन पेश गर्न जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको महामन्त्री बृहस्पति श्रेष्ठले बताए ।
मातहतका निकायहरूलाई निर्वाचन केन्द्रित कार्यक्रमहरु तयार गरि सम्पूर्ण समिति, विभाग, भातृसंगठन, संघसंस्थाहरु परिचालन गर्न निर्देशन जारी गर्ने निर्णय गरेको महामन्त्री श्रेष्ठले बताए ।
त्यस्तै मधेश प्रदेशका आठ जिल्लामा जिल्ला तथा प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको र आसन्न निर्वाचनका लागि उम्मेदवार निर्धारित समयमै टुंग्याउन पार्टी केन्द्रीय समितिको ध्यानाकर्षण गराउने निर्णय गरेको उनले बताए ।
