जनकपुर, साउन ३१

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष डा. राउतले कुनै पनि पार्टीसँग गठबन्धन नहुने हुनाले अहिले देखि निर्वाचनको तयारीमा जनतामा जान निर्देशन समेत दिए । उनले केही सिटमा भने तालमेल हुन सक्ने समेत प्रस्ट्याए ।

उनले भने, ‘राष्ट्रियरुपमा हामी कुनै पनि पार्टीसँग गठबन्धन गर्दैनौ ।’ उनले अघि थप्दैँ भने, ‘केही सिटमा तालमेलको सम्भव छ, कुनै पार्टीले हाम्रा लागि केही सिट छोडेको खण्डमा हामीले पनि केही सिट छोड्न सक्छौं । र त्यसबखत कुनै क्षेत्रमा पनि तालमेलको हिसाबले मिलेर उम्मेदवारी दिइन सकिनेछ ।’

उनले जनमत पार्टीले तराई–मधेशका सम्पूर्ण जिल्लासहित अन्य केही स्थानमा उम्मेदवारी दिने बताउँदै उनले पाँच दलीय वा आठ दलीय गठबन्धन भएपनि एक्लै चुनाव लड्नका लागि तम्तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए ।

त्यस्तै जनमत पार्टी धनुषा जिल्ला ईन्चार्ज बीपी साहले मधेश केन्द्रीत शक्तिहरुबीच गठबन्धनको प्रयास भएपनि जसपा र लोसपाहरु मधेशीलाई छोडेर अन्य कितामा उभिन खोजेको आरोप लगाए ।

प्रशिक्षणमा धनुषा जिल्लाका अगुवा नेता कार्यकर्ताहरु सहभागी रहेको थियो ।