जनकपुर, साउन ३१

सत्तारुढ जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतीय प्रणालीको आवश्यकता रहेको बताएका छन् ।

मंगलबार जनकपुरधाममा जसपा नेपालको भ्रातृ संगठन समाजवादी युवा संघ नेपालको राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री यादवले वर्तमान संसदीय व्यवस्थाका कारण राजनीतिक अस्थिरता बढेको भन्दै उनले अस्थिर राजनीतिक अन्त्य गर्न राजनीतिक स्थिरता कायम गर्नका लागि विकास र समृद्धिको बाटोमा लाग्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको विकल्प नरहेको बताए ।

अध्यक्ष यादवले भने, ‘अहिलेको संसदीय व्यवस्थाले निर्वाचन प्रणाली महगिएको छ, करोडाँ रुपैयाँ खर्चेर पनि चुनाव जितेकाहरुबाट सेवाको अपेक्षा गर्न सकिदैन, त्यसैले निर्वाचन प्रणाली फेर्नुपर्ने हुन्छ, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसदीय निर्वाचनमा जाऔँ र यसले भ्रष्टाचार नियन्त्रण गर्नुका साथै समृद्धिको बाटोमा लाग्न मद्दत पनि पु¥याउछ ।’

सांसदहरु मन्त्री बन्ने व्यवस्थाको अन्त्य भए चुनावमा हुने खर्च आफै नियन्त्रित हुने र भ्रष्टाचार पनि अन्त्य हुने उनले स्पष्ट पारे ।

उनले हतारमा ल्याइएको संविधानको वेथितिहरु एकपछि अर्को उजागर हुन थालेको उल्लेख गर्दै अध्यक्ष यादवले पहिचान सहितको संघीय पुनःसंरचना र निर्वाचन प्रणालीको विषयमा संविधान संशोधन हुनुपर्ने अडान आफुहरुको रहेको बताए ।

त्यस्तै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जसपाको प्रमुख प्राथमिकतामा शुरु देखि नै यूवा रहदै आएकोले मधेश सरकारले युवाहरुको शिक्षा र रोजगारको क्षेत्रमा अघि बढेको बताए ।

उनले मधेशका युवाहरुलाई प्रदेशमै रोजगार उपलब्ध गराउन प्रदेश निजामति ऐन, प्रदेश प्रहरी ऐन ल्याई त्यसमा जनसंख्याको आधारमा आरक्षण एवं महिलाको लागि ५० प्रतिशत आरक्षण व्यवस्था समेत गरेको दावी गरे ।