जनकपुर, भाद्र १
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवले छोटे राजाका कारण मुलुकमा आईपर्न लागेको प्रतिगमनको विरुद्ध गठबन्धन आवश्यक रहेको बताएका छन् ।
बुधबार मिथिला विहारी नगरपालिका स्थित शहिद चन्देश्वर मण्डलको १७ औँ स्मृतिसभामा बोल्दै पूर्वमन्त्री समेत रहेका मातृकाप्रसाद यादवले छोटे राजाका रुपमा देखिएका केपी शर्मा ओलीको प्रतिगमन विरुद्ध पाँच दलीय गठबन्धन आवश्यकता अनुसार भएको बताएका हुन् ।
पूवमन्त्री यादवले राजालाई हटाउन र संघीय लोकतान्त्रिक गणतान्त्रत्मक व्यवस्थाका लागि जनयूद्ध देखि जनआन्दोलन तथा मधेश आन्दोलनसम्म भएकाले अब छोटे राजाहरुलाई धपाउनका लागि निर्वाचनकै माध्यम रहेका हुनाले गठबन्धन आवश्यकता रहेको स्पष्ट पारे ।
उनले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन भएपनि काँग्रेसले काँग्रेसइतरका अधिकांश गठबन्धनको क्षेत्रमा काँग्रेसका बागी समेतलाई मत दिएपनि गठबन्धनका उम्मेदवारलाई मतदान नगरेको स्मरण गर्दै उनले भने, ‘विगतमा भएको स्थानीय तहमा काँग्रेस कति ईमान्दारीता र ठग्ने कार्यको प्रदर्शन गरेपनि हामीले गठबन्धनको तर्फबाट आफ्नो ईमान्दारीतामाथि प्रश्न खडा हुन नदिएकाले यस पटक हुने निर्वाचनमा काँग्रेस बेइमान वा ईमान्दारीता रोज्ने, त्यसको पनि परीक्षा हुने हुनाले हामी माओवादीहरु गठबन्धन बाहेकका उम्मेदवारलाई बेवास्ता गर्दै गठबन्धनकै उम्मेदवारलाई जिताउने अभियानमा लाग्ने र जनताले हामीलाई साथ दिनेमा विश्वस्त छौँ ।’
त्यस्तै नेता यादवले अहिले पदको लोभमा आत्मकुण्ठित हुँदै पार्टी रोज्ने अभियान चलेकाले यसप्रति नेता, कार्यकर्ता र आमजन सजग र सचेत रहनु आवश्यकता रहेको बताए । उनले जनता, पार्टी, कार्यकर्ता र आफन्तजनलाई दिग्भ्रमित पादैँ पदकै लागि शहिदको सम्मानसम्म गर्न विस्रिने र शहिदकै रगतमा आफुलाई पार्टी तथा शहिद भन्दा माथि सम्झने अह्म त्याग गरेमा मुलुक र आमजनले परिवर्तनको अनुभुति गर्ने बताए ।
उनले जनताका लागि कम्यूनिष्ट पार्टीले राजनीतिक गर्ने हुनाले माओवादी नै सच्चा कम्यूनिष्ट पार्टी रहेको र प्रतिगामी बाहेक सबै कम्यूनिष्ट पार्टीलाई गोलबन्द गर्ने अभियानमा माओवादी लागि सकेको बताए ।
उनले आमजनमा अपिल गर्दै नेता कार्यकर्ताले जनताको भावना अनुसार शहिदपथमा अघि बढेमा शहिदको सम्मान हुने हुनाले जनताका लागि काम गर्न समेत आह्वान गरे ।
त्यस्तै शिक्षा विज्ञान तथा राज्यमन्त्री बोधमाया यादवले शहिद चन्देश्वर मण्डलको स्मरण गर्दै शहिदको सपना पूरा गर्नका लागि अझै पनि मुलुकमा जनमुखी परिवर्तनका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताईन् ।
त्यस्तै मधेश प्रदेशका सूचना सञ्चार तथा कानुनमन्त्री भरत प्रसाद साहले समाजवाद उन्मुख मुलुक भईसकेकाले जनतालाई अनुभुति हुने गरि काम गर्नुपर्ने अपरिहार्यता रहेको बताए । उनले जनताले सोचे अनुरुपको प्रदेशले अधिकार नपाएकाले जनताका लागि मधेश प्रदेश सरकारले काम गर्न नसकेको भन्दै उनले अझै पनि प्रदेश सरकार जनतालाई शान्ति सुरक्षा अनुभुति गराउन अग्रसर रहेको बताए ।

त्यस्तै माओवादी केन्द्रका धनुषा जिल्ला ईन्चार्ज श्रवण यादवले मंसिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

यस कार्यक्रममा माओवादी केन्द्रका धनुषा जिल्ला अध्यक्ष दिपक यादवलगायतका शहिद चन्देश्वर मण्डलको शहादतको चर्चा गरेका थिए भने शहिद चन्देश्वर मण्डलको स्मृतिमा भएको रक्तदान कार्यक्रममा सैकडौँ व्यक्तिले रक्तदान गरेको आयोजकले जनाए ।


