जनकपुर, भाद्र २
जानकी मन्दिर आसपासका फुटपाथ व्यापारीहरूले जनकपुरधामका नगरपालिकालको कार्यालय घेराउ गरेका छन् ।
नगरप्रमुख मनोजकुमार साहको निर्देशनमा सडक छेउछाउ फुटपाथमा पसल थापेर व्यवसाय गर्दै आएका साना तथा खुद्रा व्यापारीहरुलाई हटाइएपछि उनीहरु उपमहानगर बिरुद्ध प्रदर्शन गर्दै आई रहेका छन् ।
फुटपाथ खाली गरेको महिना दिन बितिसक्दा समेत उपमहानगरले कुनै व्यवस्थापन नगरेको भन्दै उनीहरुले बिहिबार उपमहानगरको कार्यालय घेराउ गरेका हुन् ।

साना तथा खुद्रा पसल थापेर व्यापार गरी जीविकोपार्जन गर्दै आए पनि आफूहरूको समस्याप्रति नगरप्रमुख साह गम्भीर नरहेकोले अन्तोगत्वा विरोध प्रदर्शन गरेको एक खुद्रा व्यापारीले बताए ।

व्यापारीहरूले मेयर साहले विपन्न तथा गरिब वर्गका लागि वैकल्पिक व्यवस्थापन गर्न नचाहेकाले बाध्य भएर आन्दोलन गरेको उनले बताए । उनले आफूहरूलाई व्यवस्थापन नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
उनीहरुले धर्म संस्कृतिसँगै जोडिएका सामग्री बेच्ने फुटपाथका व्यापारीको व्यवस्थापन गर्नु लोकतान्त्रिक परिवेशमा स्थानीय सरकारकै दायित्व रहेकाले आफूहरुको समुचित व्यवस्थापन गर्न मागसमेत गरेका छन् । आफूहरुको माग सम्बोधन नगरिए आइतबारबाट चक्काजाम गर्ने चेतावनी खुद्रा व्यवसायीहरुले दिएका छन् ।
