वीरगञ्ज, भाद्र २
वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश प्रसाद यादवले पार्टी र पदबाट राजीनामा दिएका छन् ।
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित वडाअध्यक्ष यादवले पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
राजीनामा पत्रमा उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै पार्टीबाट र पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
जनताको सेवा गर्ने ध्येयका साथ वडाअध्यक्षमा निर्वाचित भएपनि पार्टीले र महानगरपालिकाका प्रमुखले असहयोग गरेको यादवले यात्रा डेलीलाई बताए ।
जनताको गाली खाएर असक्षम वडाअध्यक्षको रुपमा चिनीनुभन्दा राजीनामा दिनु बेश हुने देखिएपछि राजीनामा दिएको उनले बताए ।
जसपाका केन्द्रीय सदस्य एवम् संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफ्नो राजनीतिक यात्रा धरापमा पार्न खोजेको आरोप पनि उनले लगाएका छन् ।
जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले भने आफु काठमाण्डौमा भएको बताए । आफु काठमाण्डौबाट वीरगञ्ज फर्किएलगत्तै छलफल गरेर समस्या समाधान हुने जसपा पर्साका अध्यक्ष यादवको भनाई छ ।
सामाजिक सञ्जालमा राजीनामा पत्र देखेपनि आधिकारीक रुपमा जसपा पर्साले पत्र नपाएको जसपा पर्साका सचिव तबरेज अहमदले बताए । कुनै असन्तुष्टी भएपनि छलफल गरेर समाधान गर्ने राजीनामा स्विकृत नहुने सचिव अहमदको दावी छ ।
