किरण कर्ण

तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय समिति सदस्य रामवृक्ष यादवको जन्म तत्कालीन जनकपुर अञ्चलको धनुषा जिल्ला स्थित बरमझिया गाउँ विकास समितिमा वि.सं. २००३ मा भएको हो ।

यो अहिले मधेश प्रदेशको धनुषा जिल्लाको गणेशमान नगरपालिकामा पर्दछ । उनकी आमा सम्पैतदेवी र बुबा रामलखन यादव सामान्य किसान थिए । रामवृक्षले २०२२ सालमा एसएलसी उत्तीर्ण गरे ।

उनी वीरगञ्ज ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी आफ्नै गाउँमा रहेको प्राथमिक तहको विद्यालयमा प्रधानाध्यापक भई जागिर गर्न थाले । जागिरे भएसँगै उनको विवाह रामकुमारीसँग भयो । केही वर्षको अन्तरालमै ४ छोरी र एक छोराको जन्म भयो । घरपरिवार, विद्यालय र राजनीतिमा समेत प्रवेश गरेका उनी २०२९ सालमा नेकपा चौमको सम्पर्कमा पुगे । वि.सं.२०३० मा मजदुर आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै सिराहा, धनुषा, सर्लाही, महोत्तरीलगायत मधेसका विभिन्न जिल्लामा सक्रियता साथ राजनीति गर्न थाले । उनको यस्तो सक्रिय भूमिकाले शान्तिसुरक्षामा खलल पु¥याएको भन्दै तत्कालीन प्रतिक्रियावादी राज्यले उनलाई जेल सजाय भयो ।

रामवृक्ष यादव राजनीतिमा सक्रिय भएकै कारण बरमझिया गाउँका नागरिकहरूलाई तत्कालीन प्रशासनले यातना पीडा दिएको थियो । २०३० साल कात्तिकमा जेलमुक्त भएपछि नेकपा चौमले उनको कामबाट प्रभावित भएर २०३१ सालमा पार्टीको सक्रिय सदस्यता दिएको थियो ।

तत्कालीन सरकारले कम्युनिस्ट पार्टीसँगको संलग्नता रहेको थाहा पाएपछि उनलाई जागिरबाट नै निष्कासन गर्यो । २०३५ सालमा बरमझियामा सामन्त र मजदुरबीच आन्दोलन भयो । जसमा उनी पक्राउ परे । र उनी जनताको सहयोगबाट जबर्जस्ती प्रहरीको पञ्जाबाट फुुित्कन सफल भएका थिए । २०३५ साल कात्तिकमा सिन्धुलीमा रघुनाथ कोइरालाको हत्याकाण्डमा तत्कालीन सरकारको मिलोमतोमा जबर्जस्ती उनलाई फसाइएको थियो ।

कम्यूनिष्ट राजनीतिक पृष्ठभूमि आधारमा राजकाज अपराध अन्तर्गत २०३५ साल पुस १ गतेदेखि २०३७ वैशाख ५ गतेसम्म जेलमा राखे र पछि राजबन्दी रिहाइमा छुुटे ।

मुलुकमा प्रजातन्त्रका लागि आन्दोलन हुँदै गर्दा चुनाव भयो । जसमा बहुदलीय व्यवस्थाको हार भयो र निर्दलको जित भयो । त्यसपछि रामवृक्ष यादवको घरमा तोडफोड भयो । उनको लाखौँ रुपैयाँको सम्पत्ति पनि लुटियो । सो लुटपाटमा सोभित यादव, किसुनदेव यादव, दयाराम यादव, सन्तोषी यादव, दामोदर यावद, इद्रिसियालगायतको पनि सम्पत्ति लुटिएको थियो ।
त्यसपछि रामवृक्ष यादव बाध्यतावश भूमिगत भए । २०३९÷०४० सालतिर ज्यान मार्ने उजुरीको मुद्दामा षड्न्त्रपूर्ण ढङ्गले तत्कालिन धनुषा प्रशासनले उनलाई फसायो । २०४० सालको साउनमा विष खाएर एकजना मान्छे मर्दा त्यस घटनामा पनि तत्कालीन प्रशासनले उनलाई फसाएको थियो । प्रशासनले उनको खुट्टासमेत भाँचिदियो । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको थियो । त्यहीँ उपचाररत्त अवस्थामा जनता र पार्टीको सहयोगमा प्रशासनको कब्जाबाट उनी उम्किन सफल भए ।

२०४१ सालमा भएको पार्टीको पाँचौँ महाधिवेशनबाट पार्टी विभाजन हुँदा उनले नेकपा मशालको केन्द्रीय सदस्य भए । षड्यन्त्रपूर्ण ढङ्गले २०४५ साल जेठदेखि २०४८ सालसम्म उनलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत जेलमा राख्यो । उनी २०५१ साल भदौ १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान हुदाँ नेपाल बन्द कार्यक्रमलाई जनकपुरबाट सफल पारेर घर फर्किंदै थिए । त्यसैबेला २०५१ साल भदौ २ गते तत्कालीन शाहीसेना र प्रहरीले नेपाली काङ्ग्रेसको भीमबहादुर मल्लको इसारामा षड्यन्त्रमूलक तरिकाले हत्या गरे ।

छोरा शेखर यादव

रामवृक्ष यादव र रामकुमारी यादवबाट २०३५ सालमा बरमझियामा जन्मिएका शेखर यादवले २०५५ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । विद्यार्थी जीवनदेखि नै पिताजस्तै तीक्ष्ण बुद्धिका उनी पार्टी र क्रान्तिप्रति आफ्ना आमाबुवा झैँ प्रतिबद्ध थिए । उनी तत्कालीन धनुषा जिल्लामा पार्टी काममा सक्रिय थिए । पार्टीमा देखापरेको पलायनवादका विरुद्ध कठोर सङ्घर्ष चलाए । पार्टी र क्रान्ति छोडेर भाग्नेहरूविरुद्ध उनले अभियान नै चलाएका थिए ।
उनी पिताको आदर्श र विचारलाई शिरोपर गरी राजनीतिमा सक्रियता साथ अघि बढ्दै गए । उनी न्यायपूर्ण आन्दोलनमा क्रियाशील रहेका बेला २०५८ साल पुस १४ गते भारतको दरभङ्गाबाट उपचार गराई स्वदेश फर्कने क्रममा जयनगरबाट पक्राउ परेका थिए । त्यसपछि नेपाल–भारत सीमावर्ती क्षेत्र अवस्थित धनुषाको इनरुवामा भारतीय प्रहरीले नेपाल प्रहरीलाई सुपुर्दगी गरेको थियो । सुपुर्दुगी गरिएका शेखर यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन संयूक्त सुरक्षाफौजले निर्ममतापूर्वक हत्या गरेका थिए ।

जीवनसंगिनी रामकुमारी

May be an image of 2 people and text that says "सहिंद बलिदानको रामवृक्ष रामकुमारी सगरमाथा यादव रत रह संघर्ष में जीवन संघर्ष है कर्बान हो जो देश पे यही तो उत्कर्ष है 11 दबके ना रहना कभी, यही तो निष्कर्ष है। वह वक्त ही महान है जहां उत्सर्ग है यादव "" सहिद रामवृक्ष"

वि.सं. २००७ मा सिराहाको कल्याणपुरमा सुब्बा यादव र भोकसिनी यादवबाट रामकुमारी यादवको जन्म भएको थियो । रामकुमारी यादवले रामवृक्ष यादवलाई जीवनभर साथ र सहयोगी बनि रहे । उनी पञ्चायती तानाशाही व्यवस्था विरुद्ध निरन्तर सङ्घर्ष गरिरहने क्रममा पटकपटक गिरफ्तार पनि भइन । हिरासतमा रहँदा उनी आफ्ना ४ वटै छोरी बोधमाया, कल्याणी, सुधा, सुनीता, छोरा शेखर यादव र सासू सम्पैदेवीलाई हेरचाह गर्नेदेखि लिएर पार्टीको काममा समेत सक्रियता साथ लागिन् । साथै जेलमा रहेका रामवृक्ष यादवलाई निरन्तर हौसला र प्रेरणा प्रदान गरिरहिन् । रामवृक्ष यादवलाई डकैती, ज्यान मार्ने, राजकाज अपराध मुद्दा लाग्दा पनि त्यसको परबाह नै नगरी रामकुमारी यादव आफ्ना पति रामवृक्षको आदर्श र निष्ठालाई कहिल्यै पनि झुक्न दिइनन् । घरमा अभाव, विपन्नता र विभिन्न खाले समस्याहरू आउँदा पनि विचलित नभई असल आमाका रूपमा आफ्ना लालाबालाको हेरचाह गरि रहिन् । आफ्ना सन्तानलाई गरिबी र अभावसँग निरन्तर जुध्न सिकाइन्, लड्न सिकाईन् । वि.सं. २०५१ भदाँै २ गते रामवृक्ष यादवको हत्या भएपछि उनी मूर्छित भइन्, तर आफ्ना दुःख र पीडालाई शक्तिमा रूपान्तरण गर्दै आन्दोलनमा निरन्तर लागि रहिन् ।

वि.संं. २०५८ पुस १४ गते एउटा मात्र छोरा शेखर यादवको समेत हत्या भयो । २०५९ सालमा छोरी–ज्वाइँ डम्बर यादवको समेत हत्या भयो । निरन्तर हत्या र वेदनासँग अनवरत संघर्षरत्त रहेपनि सङ्घर्षलाई निरन्तरता दिइरहँदा रामकुमारीका देवरहरू रामसागर अनि रामजुलुमलाई तत्कालीन शाही सेनाले हत्या गरे । जनयुद्धमा समेत कटिबद्ध भएर लागेको रामवृक्षको परिवारले सिंगो परिवार नै क्षति बेहोरेको थियो । जनयुद्धमा होमिँदा विभिन्न आरोह, अवरोह र सङ्घर्षलाई अहिले पनि उनका छोरीहरूले पछ्याइरहेकी छिन् । उनी अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय सदस्य, संयक्त जनमोर्चा नेपालकी केन्द्रीय सदस्य, मधेसी राष्ट्रिय मुक्ति मोर्चाकी केन्द्रीय संयोजक, संयुक्त राष्ट्रिय जनआन्दोलनको संयोजक समितिमा केन्द्रीय उपाध्यक्षदेखि एकीकृत नेकपा माओवादीको केन्द्रीय सल्लाहकार समिति सदस्यको जिम्मेवारीमा थिइन् । उनी अन्तरिम विधायिका सदस्य र २०६४ सालमा संविधानसभाको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ६ बाट संविधानसभाको सदस्यमा प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

त्यसैगरी रामवृक्ष यादव मास्टरसाहेबको सिङ्गो परिवार नेपालको क्रान्तिकारी राजनीतिक आन्दोलनमा समर्पित भएको छ । तर रामवृक्ष यादव जुन सुझबुझ, हिम्मत, उद्देश्य र साहस र संघर्षले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा लामबद्ध भए, त्यो नेपाल र नेपाली जनताले अझसम्म प्राप्त हुन सकेको छैन ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि जीवनभर क्रान्तिमा लामबद्ध रामवृक्ष यादवहरूको आदर्श पछ्याएर क्रान्ति पूरा नहोउन्जेल वैचारिक, राजनीतिक, भौतिक हतियार र यात्रा बिसाउनु भनेको सहिद रामवृक्ष यादवहरूको आदर्शबाट विमुख भई उनको अपमान गर्नु हो । त्यसैले इमानदार क्रान्तिकारीहरूले जनक्रान्तिलाई केन्द्रमा राखेर क्रान्तिकारी आन्दोलन अघि बढाइरहनु नै आजको अपरिहार्यता हो । र यसका लागि निरन्तर संघर्ष र आन्दोलन र विद्रोह नै उत्तम विकल्प हो ।

तर संसदीय व्यवस्थाको भाषमा उभेको माओवादी केन्द्रले के शहीद रामवृक्ष यादवको स्मृति मनाईरहँदा उनले अपनाएको पथलाई अंगाल्न सक्लान् भन्ने प्रश्न अझै पनि टड्कारोरुपमा पार्टीपंक्तिमाथि उठ्ने गर्छ ।