जनकपुर, भाद्र ४
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति घोषणा भएसंगै धनुषामा हेवी वेट नेताहरुको उम्मेदवारीलाई लिएर अडकलवाजी शुरु भएको छ । धनुषाका ४ वटै निर्वाचन क्षेत्रमा हेवी वेट नेताहरुबिच प्रतिस्पर्धा हुने सम्भावना रहेकाले पनि यहाँका उम्मेदवारहरुको विषयमा अडकलवाजी चलिरहेको छ ।
धनुषामा नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र महतो, नेकपा एमालेका सचिव एवं पूर्व मन्त्री रघुवीर महासेठ, पूर्व मन्त्री जुलीकुमारी महतो, नेकपा एकिकृत समाजवादी पार्टीका नेता एवं पूर्व मन्त्री रामचन्द्र झा, नेपाली कांग्रेसका पूर्व मन्त्रीहरु महेन्द्र यादव तथा रामकृष्ण यादव, कांग्रेस नेता आनन्द ढुंगाना लगायतका प्रभावशाली नेताहरु बीच साखको लडाई हुने सम्भावना रहेको छ ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद यादवले फेरि पनि दाबी गर्ने भएका छन् । उनी यस क्षेत्रको बहालबाला प्रतिनिधिसभा सदस्य पनि हुन् । माओवादीका प्रभावशाली नेता यादव पहिलो पटक २०७४ सालको निर्वाचनमा प्रत्यक्ष चुनाव लडेर जित्न सफल भएका थिए । यसअघि उनलाई माओवादी केन्द्रले २०६४ साल र २०७० सालको संविधानसभाको निर्वाचनमा समानुपातिक सांसद बनाएको थियो । मातृका पटक पटक मन्त्री पनि भई सकेका छन् ।
सोही क्षेत्रबाट नेपाली कांग्रेसका आनन्द ढुंगाना पनि उम्मेदवारी दिने योजनामा छन् । ३÷३ पटक सांसद भएर सो क्षेत्रको संसदमा प्रतिनिधित्व गरि सकेका ढुंगानालाई पछिल्लो निर्वाचनमा मातृकाले उनलाई पराजित गरेका थिए । यद्यपि ५ दलिय गठबन्धन निर्वाचनमा कायम रहे माओवादीका मातृकालाईलाई प्रत्यक्ष निर्वाचनका लागि अवसर दिनुपर्ने सम्भावनालाई नकार्न पनि सकिदैन ।
माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेपछि प्रदेशसभा सदस्य पद गुमाएका रामचन्द्र मण्डल एमालेबाट प्रतिनिधिसभाको उम्मेदवारीको दावेदार यस पटक छन् । उनी माओवादी केन्द्रबाट २०७४ सालमा प्रदेशसभामा निर्वाचित भएका थिए । माओवादी छाडेर नेकपा एमाले रोजेपछि उनको प्रदेशसभा सदस्य पद गुमेको थियो । यसअघि उनी माओवादी केन्द्रबाट २०६४ तथा २०७० सालको संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २मा पूर्वमन्त्रीहरु बिच कडा प्रतिस्पर्धा देखिने निश्चित छ । अहिले सो क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं पूर्व मन्त्री उमाशंकर अरगरिया प्रतिनिधिसभा सांसद हुन् ।
तत्कालीन समाजवादी पार्टीबाट चुनाव जितेका उनी अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध छन् । २०६३ सालको मधेश आन्दोलनमा तत्कालीन मधेशी जन अधिकार फोरममा आवद्ध रहेका उनी लामो समयसम्म विभिन्न मुद्दामा जेलमा रहेका पूर्व मन्त्री संजय साहसँग नजिक भएर काम गरेका थिए ।
पछि उनी विजय गच्छदारको नेतृत्वमा बनेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालबाट २०७० सालको संविधान सभा निर्वाचनमा चुनाव लडेर पराजित भएका थिए । गच्छदार नेपाली कांग्रेसमा लागेपछि उनी समाजवादी पार्टीमा लागेर निर्वाचित भएका थिए ।
यस क्षेत्रबाट नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री रामकृष्ण यादव दुईपटक सांसदको रुपमा निर्वाचित भइसकेका छन् । २०६४ सालको संविधानसभा चुनावमा जितेर आएपछि उनी संसद्को सार्वजनिक लेखा समिति सभापति समेत भएका थिए । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा सोही क्षेत्रबाट दोस्रोपटक जितेका उनी कृषि मन्त्री समेत बनेका थिए । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसबाट तेस्रोपटक समेत टिकट पाएका उनलाई पराजय भोग्नु परेको थियो ।
रामकृष्णबाहेक कांग्रेसको केन्द्रीय समितिमा सबैभन्दा बढी मत ल्याएर जितेकी मुक्ता यादव पनि सो क्षेत्रबाट चुनाव लड्ने प्रबल सम्भावना छ । २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेकी उनी २०७४ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन् । दुई वर्षे राष्ट्रिय सभाको कार्यकाल सकिएपछि उनी राष्ट्रिय सभाबाट बाहिरिएकी थिइन् ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट सो क्षेत्रमा पूर्वमन्त्री रामचन्द्र झा पनि दाबेदार हुन् । उनी नेकपा एमालेबाट २०५१ सालमा प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटक निर्वाचित भएका थिए । त्यसपछि २०६४ सालको संविधानसभाको चुनावमा समेत नेकपा एमालेबाट निर्वाचित भएका थिए । संविधान सभामा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को नेतृत्वमा बनेको सरकारमा स्थानीय विकास मन्त्री समेत बनेका थिए ।
२०७० सालको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट चुनाव लडे पनि पराजित भएका थिए । २०७४ सालको चुनावमा फेरि माओवादीबाट चुनाव लडेका उनी पराजित भएका थिए ।
नेकपा एमालेबाट राजनीति गरेका झा एमालेको धनुषा जिल्ला सचिव हुँदै केन्द्रीय समितिमा पटक–पटक निर्वाचित हुँदै पोलिटब्युरो सदस्य समेत भएका थिए । २०४६ सालको जनआन्दोलनमा नेकपा एमालेको ब्यानरमा आन्दोलन नेतृत्व गरेका उनले २०६२÷६३ सालको जनआन्दोलनको पनि अगुवाइ गरेका थिए ।
धनुषासहित मधेशका विभिन्न जिल्लामा कम्युनिस्टको संगठन बनाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । पछि एमाले परित्याग गर्दै माओवादी, नयाँ शक्ति, फेरि माओवादी हुँदै अहिले उनी एकीकृत समाजवादीको सचिवालय सदस्य हुन् ।
धनुषाको संसदीय निर्वाचन क्षेत्र नम्बर ३मा प्रभावशाली नेताहरु नेपाली कांग्रेसका विमलेन्द्र निधि, लोसपाका राजेन्द्र महतो र नेकपा एमालेको जुलीकुमारी महतो टिकेटका दावेदार हुन् ।
कांग्रेसबाट टिकेटका अकांक्षी रहेका पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि दुई पटक यस क्षेत्रबाट संसदीय निर्वाचनमा पराजित भई सकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुण्यप्रताप मल्ल र पछिल्लो निर्वाचनमा तत्कालिन राजपाका राजेन्द्र महतोले निधिलाई पराजित गरि सकेका छन् ।
कांग्रेसको केन्द्रीय समितिमा समेत पटक–पटक केन्द्रीय सदस्य भएका उनी महामन्त्री हुँदै उपसभापतिसम्म भई सकेका छन् । १४औँ अधिवेशनमा उनी नेपाली कांग्रेसको सभापति पदमा पराजित भएका थिए । सामान्य प्रशासन मन्त्री, शिक्षा मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री हुँदै उपप्रधान तथा गृहमन्त्री समेत निधि भइसकेका छन् ।
उक्त क्षेत्रको बहालवाला प्रतिनिधिसभा सदस्य लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतो टिकेटका लागि प्रबल दावेदार हुन् । तत्कालिन सदभावना पार्टीबाट राजनीति शुरु गरेर पटक–पटक सांसद तथा मन्त्री बनिसकेका महतो मधेश आन्दोलनको अगुवाइ गर्ने मुख्य नेता हुन् ।
सर्लाहीको आफ्नो संसदीय क्षेत्र छोडेर गत निर्वाचनमा उनले धनुषाको क्षेत्र नम्बर ३मा निधिलाई पराजित गरेका थिए ।
यसपटक पनि यसै क्षेत्रबाट चुनाव लड्ने लगभग निश्चित छ । उनी सर्लाहीबाट २०४८ साल, २०५१ सालमा संसदीय चुनावमा पराजित भएका थिए भने २०५६ साल २०६४ सालमा चुनाव जितेका थिए । त्यसैगरी २०७० सालमा चुनाव हारेका उनी २०७४ सालमा भने धनुषाबाट चुनाव जितेका थिए । तीनपटक उद्योग, वाणिज्य आपूर्ति मन्त्री, एकपटक स्वास्थ्य तथा जनसंख्या मन्त्री र एकपटक उपप्रधानसहित शहरी विकास मन्त्री भई सकेका छन् ।
यी दुई नेताहरुका साथै नेकपा एमालेकी सांसद एवं पूर्व मन्त्री जुली महतोले पनि टिकेटको दावेदार हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेकी उनी २०७० मा प्रत्यक्ष चुनाव लड्दा कांग्रेस नेता निधिबाट पराजित भएकी थिइन् । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा उनलाई फेरि एमालेबाट समानुपातिक सांसद बनाइएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका सचिव रघुवीर महासेठको दाबी छ । महासेठ उक्त क्षेत्रका बहालवाला प्रतिनिधिसभा सांसद हुन् । नेकपा एमालेको स्थायी कमिटी सदस्य, सचिवालय सदस्य समेत रहेका महासेठ मधेशका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । २०५१ साल, २०५६ सालको संसदीय चुनाव हारेका महासेठ २०६४ सालको उपचुनावमा जित्न सफल भएका थिए । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट चुनाव लडे पनि तत्कालिन संघीय समाजवादी फोरमका सञ्जय साहबाट उनी पराजित भएका थिए ।
नेपाली कांग्रेसबाट चुनाव जितेका डा. रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त स्थानमा भएको उपचुनावमा एमालेबाट महासेठले विजय निकालेका थिए । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचन जितेका महासेठ २०७४ सालको निर्वाचनमा पनि जित निकाले । सिञ्चाइ मन्त्री, भौतिक पूर्वाधार मन्त्री हुनुका साथै ओली नेतृत्वको सरकारमा उनी १३ दिनका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेका छन् ।
सोही क्षेत्रबाट नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव प्रमुख दाबेदार देखिएका छन् । २०७४ सालको निर्वाचनमा उनी महासेठसँग पराजित भएका थिए । २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेका यादव २०७४ मा प्रत्यक्ष निर्वाचनमा भने पराजित भएका थिए । २०७४ सालको चुनाव हुनुअघि उनी खानेपानी मन्त्री भएका थिए ।