जनकपुर, भाद्र ४

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ ।

नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको हो । सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालका एक अधिकारीले जानकारी दिए ।

काँग्रेसका नेता तथा समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए ।

घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो ।

उनी २०१७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा थालेका थिए । बुवा मित्रलाल गिरि कांग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले गिरी राजनीति सानै उमेरबाट प्रारम्भ गरेका थिए ।

राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष उनले जेल जीवन बिताइसकेका छन् । उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए । २०५१ सालको संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएपछि गिरि राष्ट्रिय राजनीतिमा उदाएका थिए ।

वि.सं. २०५६ साल निर्वाचनमा सिरहा ५ मा पराजित भएका उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद भए । ०७४ मा भएको निर्वाचनमा उनी सिराहा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

देउवाले पार्टी फुटाउने बेलामा पनि नेता गिरि देउवाकै साथमा थिए । भारत, जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गरेका नेता गिरिले नेपाली राजनीतिमा प्रखर नेता थिए ।