जनकपुर, भाद्र ४
मानव तस्करीको आरोपमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेतासहित दुई जनालाई सिमावर्ती क्षेत्रबाट भारतीय प्रहरी जवानले पक्राउ गरेको छ ।
भारत–नेपाल सिमानाका क्षेत्रबाट पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ बस्ने लोसपाका नेता अमर पंजियार र परिचय नखुलेका अर्का एकजना समेत भारतीय सिमा सुरक्षा बल (एसएसबी) का जवानले जनाएको छ ।
उनीहरुलाई भारत–नेपाल सीमामा तैनाथ रहेका ४८औं बटालियन जयनगर एसएसबी बोर्डर अन्तर्गत पिपरौन क्याम्पका जवानहरुले सिमा क्षेत्रबाट पक्राउ गरेको हो ।
बा २१ च ७१२८ नम्बरको सवारीमा सवार भई ८ वर्षीया एक बालिकालाई भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा शुक्रबार राति उनीहरुलाई भारतीय एसएसबीका जवानले पक्राउ गरेको थियो ।
उनीहरुमाथि शंकाको आधारमा चेकजाँच गर्दा पक्राउ गरेको एसएसबी पिपरौनले जनाएको छ भने उनीहरुले नेपाल भित्र्याउँदै गरेका नाबालिकालाई हरलाखी थाना एसएसबीको जिम्मा लगाएको जनाइएको छ ।
उनीहरुले ती बालिकालाई काम गराउनका लागि भारतको विहार प्रान्तको मधुवनी जिल्ला स्थित बाँसोपट्टीबाट आफ्नो घर लगिरहेको चाइल्डलाइन सबसेन्टर जयनगरकी सबिता देवीले बताइन् ।
उनले भनिन्, ‘ति बालिकाले आफूलाई बँधुवा मजदुरीका लागि भारततर्फ लगिरहेको कुरा बताएपछि थाहा पाएकी हँु ।’ उनले स्पष्ट पार्दै भनिन्, ‘त्यही भएर उनीमाथि मानव तस्करीको मामिलामा पक्राउ गरिएको हो ।’
घटनाबारे भारतीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
