जनकपुर, भाद्र ६

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् ।
सोमबार पूृर्व उपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएको बताए ।

मुख्यमन्त्री राउत २०७४ फागुन २ गते मुख्यमन्त्री बनेका थिए । उनी मधेश प्रदेशको पर्सा क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित भएका हुन् ।

तत्कालीन संघीय समाजवादी फोरम नेपालका तर्फबाट राजपा नेपालको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए । दुई पार्टी वीच भएको एकता पछि गठित जनता समाजवादी पार्टी नेपाल भई फेरि विभाजन भएर दुई पार्टी बनेको छ ।

मुख्यमन्त्री राउतलाई अहिले संघीय सरकारमा समिकरण बने झैँ मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन छ ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मुखमा आएर जसपा नेपाल अध्यक्ष यादवले राउतको राजीनामा मागेसँगै अब मधेस प्रदेशमा कामचलाउ सरकार रहने छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलीप प्रधानसहित १० कर्मचारी र एक कम्पनीलाई विपक्षी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रदेश सरकारले पहिलो चरणमा १० र अर्को चरणमा १७ हजार गरी कुल २७ हजार साइकल खरिद गरेर वितरण गरेको थियो । १७ हजार साइकल खरिद गर्दा तोकिएको ब्राण्डलाई छोडेर ब्राण्ड नै नखुलेको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको आरोपपत्रमा उल्लेख छ ।

पर्सा क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित लालबाबु राउत २०७४ फागुन २ गते मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।