रौतहट, भाद्र ७
रौतहटको चन्द्रपुरमा फोहोर फ्याल्ने विषयमा भएको विवादले उग्ररुप लिएपछि एक जनाको हत्या भएको छ ।
फोहोर फ्याल्ने विषयमा विवाद हुँदा भएको हातपातमा एक जनालाई कुटपिट गरी वृद्धको हत्या भएको छ । सो हत्या अभियोगमा एकै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित पैनी टोल बस्ने ७७ वर्षीय राम गोपाल घिमिरेको हत्या गरेको अभियोगमा चन्द्रपुर–५ बस्ने रामचन्द्र चौधरी, उनकी श्रीमती प्रमिला चौधरी र छोरा अजय चौधरी रहेका छन् ।
आरोपित चौधरी दम्पत्तीले पालेको बंगुरको फोहोर गत साउन २८ गते घर अगाडि फालेको विषयलाई लिएर घिमिरे र चौधरी दम्पत्तीबीच विवाद भएको थियो ।
सो विवादको क्रममा प्रमिला र उनका छोरा अजय मिलेर कुटपिट गरी घिमिरेलाई घाइते बनाएका थिए । घाइते घिमिरे उपचारपछि घर फर्किएका थिए ।
तर आइतबार उनको स्वास्थ्य बिग्रिएपछि उपचारको लागि काठमाडौँ स्थित महाराजगञ्जको शिक्षण अस्पतालमा उपचारको लागि लगिएको थियो । तर सो उपचारको क्रममा घिमिरेको मृत्यु भएको रौतहटका प्रहरीका प्रहरी प्रवक्ता सुनिल मल्लले जानकारी दिए ।
घिमिरेको हत्यामा संलग्न रहेका चौधरी दम्पत्ती र उनका छोरा अजयलाई रौतहट प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गराइ कारबाही प्रक्रिया अघि बढाइएको मल्लले बताए ।
