जनकपुर, भाद्र ८
मधेस प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब भत्तामा वृद्धि भएको छ । मधेस प्रदेश सरकारको गत असार २३ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार बहालबला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, सांसद र प्रदेश नीति आयोगका उपाध्यक्ष र सदस्यको तलबमा २ हजारले वृद्धि भएको छ ।
मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ अनुसूची (१) को क्र.सं. १ मा पारिश्रमिक प्रति महिना २ हजार थप गर्ने र क्र.सं. ५ को सवारी इन्धनको इकाई दरमा ‘लिटर’ शब्दको पछी ‘प्रति मोटर’ शब्द थप गरी सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।
कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले आइतवार आफ्नो आधिकारीक वेवसाइटमा प्रदेश राजपत्र प्रकाशित गरेको छ । जस अनुसार अब मधेस प्रदेशका मुख्यमन्त्रीले प्रति महिना ६२ हजार ९७० रुपैयाँ तलब पाउने भएका हुन् । यस्तै मन्त्रीले ५९ हजार ७८०, राज्यमन्त्रीले ५८ हजार ४९० र सहायक मन्त्रीले ५५ हजार तलब पाउने भएका हुन् ।
यस्तै मुख्यमन्त्रीलाई प्रति महिना ३ सय लिटर सवारी इन्धन दिँदै आएकोमा अब प्रति गाडी ३ सय लिटर इन्धन पाउनेगरि मन्त्रीपरिषद्बाट निर्णय गरेका हुन् । यस्तै राज्यमन्त्रीले प्रतिमहिना २५०, राज्यमन्त्रीले २२५ र सहायक मन्त्रीले २०० लिटर सवारी इन्धन पाउँदै आएका थिए ।
यस्तै प्रदेशसभाका पदाधिकारी र सांसदहरुको समेत दुई हजार तलब बढेको हो । अब सभामुखले प्रतिमहिना ६१ हजार, उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्षको सचेतकले ५९ हजार ७८०, दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र सभापतिले ५८ हजार ४९०, दलका प्रमुख सचेतक र सचेतकले ५५ हजार र सदस्यहरुले ५४ हजार ६ सय रुपैयाँ तलब पाउने भएका छन् ।
यस्तै प्रदेश नीति आयोगका उपाध्यक्षले ५६ हजार ४९० र सदस्यहरु ५३ हजार रुपैयाँ तलब पाउँदै आएकोमा अब उनीहरुको तलब क्रमश प्रदेश राज्यमन्त्री तथा प्रदेश सहायक मन्त्री सरह दिने भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव शिवनाथ पौडेलले जानकारी दिए ।
