पर्सा, भाद्र १०
विद्यालयका कर्मचारीलाई सरकारले अवमूल्यन र अनुचित श्रमशोषण गरी निराश बनाउने कार्यमा सरकार उद्धत रहेको आरोप नेपाल विद्यालय कर्मचारी परिषदले लगाएका छन् ।
परिषद्का पर्सा जिल्ला अध्यक्ष राजेन्द्रलाल कर्णद्वारा हस्ताक्षरित जारी गरिएको विज्ञप्तिमा कर्मचारीको तलब वृद्धि हुदाँ समेत सरकारले विभेद गरि असमान तलब वितरण गरिरहेको आरोप लगाए ।
अध्यक्ष कर्णले एक विज्ञप्ति जारी गर्दै तलब वृद्धि अनुसार समानढंगले तलब वितरण नहुञ्जेलसम्मका लागि यही भाद्र १२ देखि १७ एक सातासम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उनले सो बन्द सफल पारिदिनका लागि सरोकारवाल संघ संगठनसँग समेत आग्रह गरेका छन् ।
विद्यालय कर्मचारीहरुको हक हित र पेशागत सुरक्षा सुनिश्चितताको लागि पटक पटक सम्झौता गरे पनि सम्झौताका आधारभुत मागहरु समेत कार्यान्वयन नगरी श्रमजीवि कर्मचारीहरुको अवमूल्यन र अनुचित श्रमशोषण गरी निराश बनाएको स्पष्ट पारेका छन् ।
अध्यक्ष कर्णले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एउटै विद्यालयमा रहेका शिक्षकहरुको तलबमानमा व्यापक परिवर्तन हुदाँ पनि विद्यालय कर्मचारीहरुको तलब बृद्धि नहुनु कुनै पनि श्रमजीवीका निमित्त न्यायोचित हुन सक्दैन ।’
उनले जारी गरेको विज्ञप्तिमा, ‘न्युन तलबमा आफ्नो जिम्मेवारी सम्हालदै आएका श्रमजीवी विद्यालय कर्मचारीहरुको पेशागत सुरक्षाको सुनिश्चितता एवं तलव वृद्धि सहितको लागि नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले आह्वान गरेको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै समर्थन समेत गरिदिन हुन सम्पूर्ण प्रधानाध्यापक एवं शिक्षक गणमा हार्दिक अनुरोध गर्दछौं ।’
जारी गरिएको विज्ञप्तिमा, ‘विद्यालय कर्मचारीहरुको माग शिघ्र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनको लागि यहि भाद्र १२ गते देखि १८ गते सम्मको नेपाल विद्यालय कर्मचारी परिषदले गरेको आहवान बमोजिम विद्यालय बन्द कार्यक्रमलाई सफल पारीदिन हुनको लागि नेपाल शिक्षक महासंघ पर्सा, नेपाल शिक्षक संघ पर्सा, नेपाल राष्ट्रिय शिक्षक संगठन पर्सा, संघिय शिक्षक फोरम नेपाल पर्सा, एकीकृत अखिल नेपाल शिक्षक संगठन, पर्सा लगायतका सम्पूर्ण शिक्षकहरुको पेशागत संगठनहरु समेतलाई हार्दिक अनुरोध गर्दछौं,’ उल्लेख छ ।

