वीरगञ्ज, भाद्र १४
पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय फिरोज मियाँ (अन्सारी) का आफन्त तथा शुभेच्छुकहरूले उहाँको मृत्युकोे घटनाको तत्काल निष्पक्ष छानविनको माग गरेका छन् ।
वीरगञ्ज हेल्थ केयर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीका कारण मियाँको ज्यान गएको आरोप लगाउँदै मियाँका आफन्त तथा शुभेच्छुकले दोषीलाई कारबाहीको मागसहित सो घटनाको निष्पक्ष छानविनको माग गरेका हुन् ।
स्वास्थ्यमा समस्या भएपछि गत साउन २६ गते अस्पताल भर्ना हुनुभएका मियाँको गत साउन २७ गते डा आसिफ अन्सारीले पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रिया भइसकेपछि उहाँको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि मियाँलाई काठमाडौँको मेडिसिटी अस्पताल पठाइएकामा उपचारकै क्रममा उहाँको भदौ ५ गते मृत्यु भएको थियो ।
हेल्थ केयरमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीका कारण शल्यक्रियाका क्रममा उपचारमा अत्यधिक रगत बगेका कारण मियाँको ज्यान गएको फिरोजका पिता जुनम मियाँको आरोप छ ।
बिरामीका आफन्तले यसबारे न्यायिक छानविन र दोषीमाथि कानुनबमोजिम कारबाहीको माग राख्दै यसअघि जिल्ला प्रशासन कार्यालय पर्सामा समेत लिखितरूपमा उजुरी दर्ता गराएको फिरोजका पिता जुनम मियाँले जानकारी दिए ।
यसै विषयमा वीरगञ्जस्थित हेल्थ केयर अस्पतालका सञ्चालक डा अबुलहैस अन्सारीले अस्पतालका पक्षबाट फिरोजको उपचारमा कुनै लापरवाही नभएको र उहाँको स्वास्थ्य अवस्था बिगिँ्रदै जानुको कारण पहिलादेखि नै हृदय रोगी रहेको दाबी गरे ।
यता वीरगञ्ज हेल्थ केयरमा कार्यरत डा आसिफ अन्सारीको पेशागत र व्यक्तिगत चरित्रहत्या हुनेगरी बिरामीका आफन्त र केही सञ्चारमाध्यमले भ्रामक हल्ला फैलाएको भन्दै चिकित्सक सङ्घ नारायणीले आपत्ति जनाएको छ ।
डा. गुप्ताले वीरगञ्ज हेल्थ केयरमा उपचारका क्रममा दूरबिन प्रविधिबाट शल्यक्रिया गर्ने क्रममा आवश्यक सबै सावधानी अपनाउँदा पनि मियाँको गल ब्लाडर बेडबाट अत्यधिक रक्तश्राव भएपछि ओपन सर्जरीका माध्यमले रक्तश्राव रोकेर शल्यक्रिया गरिएको बताए ।
