काठमाण्डौ, भाद्र १८

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ठगी मुद्दामा फरार रहेका एक आरोपीलाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट भगाएका छन् ।

दुबईबाट काठमाण्डौ आएका सुनसरी घर भएका ३० वर्षीय रिजवान आलमलाई अध्यक्ष अन्सारीले भीआईपी कक्षबाटै रिसिभ गरेर बाहिर ल्याएका हुन् ।

शुक्रबार बिहान अन्सारीले प्रहरीलाई छक्याएर भगाएका आरोपीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले राती नै मेरियट होटलबाट पक्राउ गरेको छ । होटलमा अर्को व्यक्तिको नाममा कोठा बुकिंग गरेर उनलाई राखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुको भनाई छ ।

आरोपित रिजवानलाई विमास्थल सुरक्षा कार्यालयको पत्रको आधारमा पक्राउ गरेर बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

मुस्लिम आयोगका अध्यक्ष अन्सारीले शुक्रबार दुबईबाट आउने ५ जना डेलिगेट्सका लागि भीआईपी कक्ष प्रयोग गर्न गृह मन्त्रालयबाट अनुमति लिएका थिए । उनीहरुलाई रिसिभ गर्न विमानस्थल पुगेका अन्सारीले फरार आरोपी आलमलाई पनि माला र खादा लगाएर आफ्नै गाडीमा राखेर लिएर हिँडेका थिए । ५ जना लाई भीआइपी कक्ष प्रयोग गर्न अनुमति दिइए पनि ६ जनाको पासपोर्ट चेकजाँचका लागि अध्यागमनमा भने पठाइएको थियो ।

पासपोर्ट चेकजाँचगर्दा रिजवान आलम कालोसूचीमा रहेको खुलेपछि अध्यागमनका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । गएराति ९ बजे नक्सालस्थित होटल मेरिटबाट उनलाई प्रहरीले पक्राउ गरेर प्रहरी वृत गौशालाको हिरासतमा राखेको जनाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौले ०७८ फागुन २७ गते आरोपित आलमसहित ११ जनाको नाममा पक्राउ अनुमति लिएको थियो । आरोपित आलम पनि ५ जना दुबईका डेलिगेट्ससँगै दुबइबाट काठमाण्डौ आएका हुन् । फरार आरोपीसहितका पाहुना शुक्रबार बिहान दुबईबाट त्रिभुवन विमानस्थलमा ओर्लेका थिए ।

अन्सारी विवादमा मुछिएको यो पहिलो घटना भने होइन । अध्यक्षमा सिफारिस भएपछि संसदीय सुनुवाइका क्रममा उनको नागरिकता फर्जी भएको उजुरी पनि परेको थियो । गत स्थानीय निर्वाचनमा जनकपुरधाममा पैसा बाँडेको आरोप लागेपछि स्थानीय बासिन्दाले उनी बसेको होटल घेराउ समेत गरेका थिए । उनलाई प्रहरीले रेस्कयू गरेर जनकपुर विमानस्थलसम्म भगाउनुपरेको थियो ।