एजेन्सी, भाद्र १८

दिल्ली प्रहरीको आर्थिक अपराध महाशाखाले बलिउडकी अभिनेत्री नोरा फतेहीलाई सुकेश चन्द्रशेखर मनी लन्ड्रिङ प्रकरणमा ६ घन्टासम्म सोधपुछ गर्दै स्पष्टिकरण लिएको छ ।

अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पनि सोही मुद्दामा सोधपुछ भइरहेको बेला उनीसँग समेत सोधपुछ थालिएको हो ।

सुकेश चन्द्रशेखर २०० करोड भारतीय रुपैयाँको ठगी मुद्दाका अभियुक्त हुन् । उनीमाथि सम्पत्ति शुद्धीकरणको आरोप रहेको छ । उनले नोरा फतेही र ज्याकलिन फर्नान्डिजलाई महँगो उपहार दिएको पनि आरोप छ ।

अभिनेत्री नोरा फतेहीलाई सोधपुछका क्रममा सुकेश चन्द्रशेखर र उनको उपहारबारे करिब ५० प्रश्न सोधिएका थिए । शुक्रबार राति आठ बजेसम्म उनीसँग सोधपुछ गरिएको थियो ।

समाचार एजेन्सी एएनआईले उनलाई के उपहार पाइन्, उनी कोसँग कुरा गर्थिन्, उनले सुकेश र उनकी श्रीमतीलाई कहाँ भेटिन्लगायतका प्रश्न सोधिएको थियो ।

थप केही प्रश्नको जवाफमा नोराले ज्याकलिन फर्नान्डिजसँग आफ्नो कुनै सम्बन्ध नभएको र सुकेश चन्द्रशेखरसँग दुवै अभिनेत्रीको फरक–फरक कुराकानी हुने गरेको बताएकी छन् ।

आर्थिक अपराध महाशाखाका विशेष सीपी रवीन्द्र यादवले नोरा फतेहीलाई बोलाएको र सुकेशले जेलबाटै चलाइरहेका आपराधिक सिन्डिकेटसँग सम्बन्धित मानिसहरुको विषयमा प्रश्न सोधेको बताए । उनीसँग ६ घन्टासम्म प्रश्न सोधिएको थियो ।

उनले अहिलेसम्म अनुसन्धान जारी रहेको र विस्तृत अनुसन्धानपछि मात्रै कुनै निष्कर्षमा पुग्न सकिनेसमेत बताए ।

एएनआईले दिएको जानकारी अनुसार एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै नोरा फतेहीको परिचय चन्द्रशेखरकी पत्नी लीना मारिया पलमार्फत् भएको जानकारी दिएको छ । लीनालाई पछि सोही मुद्दामा पक्राउ गरिएको थियो ।