जनकपुर, भाद्र १९
पञ्चायती शासन व्यवस्था विरुद्ध प्रजातन्त्रका लागि योद्धाका रुपमा रहेका जिउँदो शहिद नेता ललन चौधरी प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने निर्णयमा पुगेका छन् ।
नेपाली काँग्रेसका योद्धा समेत रहेका नेता चौधरीलाई धनुषा काँग्रेसले बेवास्ता गरेको र पटक पटक अवसर पाएकै व्यक्तिलाई पुनः उम्मेदवार बनाउने निर्णय गरेको विरुद्धमा धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’ बाट उम्मेदवारी दिन लागेका हुन् ।
वि.सं.२०४६ सालको पञ्चायती शासन व्यवस्था विरुद्धको प्रजातन्त्रका लागि भएको जनआन्दोलनका अगुवा समेत रहेका नेता चौधरीले साथी भाई शुभचिन्तक, समर्थकहरुको व्यपाक दवाव रहेकाले आफुले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिन तयारी थालेको बताए ।

उनले पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई आफुले पटक पटक सहयोग समर्थन र साथ दिदाँ समेत आफ्नो अवमूल्यन गरेकाले आफुले उम्मेदवारी दिने निर्णयमा पुगेको बताए ।
काँग्रेसले नेता निधिको सिफारिसमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई नै पुनः प्रदेशसभा सदस्यका लागि सफारिस गरेपछि नेता चौधरीले आफुलाई जनस्तरबाटै दवाव आएका कारण उम्मेदवारी दिने बताए ।

उनले काँग्रेसले कार्यकर्ताको उचित मूल्यांकन समेत गर्न नसकेको र लोकतन्त्रको लागि लडेको पार्टीले नेता कार्यकर्ताको मनोभावना नै नबुझेर अवसरवादी व्यक्तिलाई नै विभिन्न पटक अवसर दिने गरेकाले आफुले उम्मेदवारी दिने स्पष्ट पारे ।
काँग्रेसले धनुषा–३ ‘क’ बाट आधिकारिक उम्मेदवारको रुपमा मन्त्री यादवको नाम सिफारिस गरेका छ भने नेता चौधरीले समेत उम्मेदवारी दिएमा काँग्रेसका नेता समेत रहेका यादवका लागि यस पटकको निर्वाचन निकै चुनौतीपूर्ण हुनेछ ।
नेता चौधरीले पञ्चायती व्यवस्था विरुद्धका योद्धा, तरुण दलका विभिन्न जिम्मेवारी, काँग्रेस धनुषाको समेत विभिन्न जिम्मेवारी र काँग्रेसको खेलकुद विभागमा समेत काम गरिसकेका छन् ।
उनको उम्मेदवारीले धनुषा काँग्रेसलाई व्यापक क्षती पुग्ने काँग्रेसजनहरुको भनाई छ ।
